काठमाण्डु – नेपालको एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त रंगशाला दशरथ रंगशालामा फिफा र एएफसीका आधिकारिक खेल नहुने भएका छन्।
एसियन फुटबल कन्फिडेरेसन (एएफसी)ले दशरथ रंगशालको निरीक्षण गर्दा रंगशालामा आधुनिकीकरण नभएको भन्दै फिफा र एएफसीको खेल खेलाउन नमिल्ने बताएको हो।
एन्फाका महासचिव किरण राईका अनुसार अब नेपालले फिफा र एएफसीका कुनै पनि खेल दशरथ रंगशालामा खेल्न नपाउने बताए। ‘अब रंगशालाको मापदण्ड पूरा नभएसम्म फिफा र एएफसीको आधिकारिक खेल हुन सक्दैन,’ उनले भने।
एसियन कपको छनोटअन्तर्गत नेपालले आगामी अक्टोबर १४ मा भियतनाम तथा नोभेम्बर १८ मा मलेसियासँग घरेलु खेल खेल्ने तालिका छ । त्यसअघि नेपालले अक्टोबर ९ मा भियतनामसँग उसकै मैदानमा खेल खेल्नेछ ।
तर, घरेलु खेलका लागि अखिल नेपाल फुटबल संघले दशरथ रंगशालामा खेल गराउन गरेको प्रस्ताव एएफसीले अस्वीकार गरेको हो ।
उनले दशरथ रंगशालामा साफ र अन्य अन्तर्राष्ट्रिय सिरिज भने हुने बताए।
दशरथ रंगशाला बारम्बार एएफसीको निरीक्षणमा अयोग्य ठहर हुँदै आएको छ । यसअघि पनि मैदानका कारण नेपालले २०२६ को विश्वकप छनोटको खेलहरू र एएफसी एसिएन कप २०२७ को छनोट खेलहरू दशरथ रंगशालामा नेपालले खेल्न पाएको थिएन।
फिफा विश्वकप २०२६ अन्तर्गत २०२३ को नोभेम्बर १७ मा यमनविरुद्धको खेलयता दशरथ रंगशालामा फिफा र एएफसीको कुनै पनि पुरुष प्रतियोगिता आयोजना हुन सकेको छैन ।




प्रतिक्रिया