पूर्वराष्ट्रपतिबारे एमालेको निर्णय संवैधानिक व्यवस्थाप्रतिको निष्ठा हो : महासचिव पोखरेल

पूर्वराष्ट्रपतिबारे एमालेको निर्णय संवैधानिक व्यवस्थाप्रतिको निष्ठा हो : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्था र लोकतन्त्रप्रति निष्ठाको परिणाम रहेको बताएका छन् ।

शनिबार नेकपा एमाले गोदावरी नगर कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पूर्वराष्ट्रपतिप्रति पार्टीले गरेको निर्णय नेपालको संवैधानिक व्यवस्थाप्रतिको निष्ठा भएको बताएका हुन् ।

‘सबै व्यक्ति जिम्मेवारीबाट मुक्त भएपछि उनीहरूको सुरक्षाको जिम्मा प्रहरीले लिन्छ, भूतपूर्व प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखको सुरक्षा नेपाल प्रहरीले गर्छ तर भूतपूर्व राष्ट्रपति र उपराष्ट्रपतिको सुरक्षामा नेपाली सेना छ । दलीय राजनीतिमा एउटा नेता सेनाको सुरक्षामा अर्को नेता सामान्य प्रहरीको सुरक्षामा रहने कुराको अन्तर एउटै हुन्छ र ?’ उनले भने, ‘त्यसअर्थमा राष्ट्रपतिलाई जुन भूमिकामा राखेका छौं, हाम्रो पार्टीले जे निर्णय गरेको छ, त्यो निर्णय नेपालको संवैधानिक व्यवस्था र हाम्रो आफ्नो लोकतन्त्रप्रति निष्ठाको परिणाम हो भन्ने बुझ्नुपर्छ ।’

उनले राष्ट्रपति र उपराष्ट्रपति सेवाबाट हटेपछि राजनीतिमा आउनु हुँदैन भन्ने पार्टी निर्णय कायम रहुञ्जेलसम्म सदस्यको विषय सान्दर्भिक नहुने बताए ।

उनले भने, ‘विषयलाई हामीले बुझ्नुपर्छ, पूर्वराष्ट्रपतिको सन्दर्भमा पार्टीले गरेको निर्णय के हो, त्यसलाई जस्ताको जस्तै बुझ्नुपर्दछ । जहाँसम्म पूर्वराष्ट्रपति सामाजिक जीवनमा सक्रिय रहन पाइन्छ, राजनीतिक रूपमा चासो चिन्ता प्रकट गर्न पाइन्छ ।’