शैक्षिक संस्थामा बम राखिएको अफवाह फैलाउने व्यक्ति पक्राउ

शैक्षिक संस्थामा बम राखिएको अफवाह फैलाउने व्यक्ति पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजधानीका विभिन्न शैक्षिक संस्थामा बम राखिएको भन्दै झूटा अफवाह फैलाउने १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी कन्ट्रोल रुमको आकस्मिक नम्बर १०० मा मिति २०८२ भदौ १३ गते दिउँसो फोन गरी ‘काठमाण्डुस्थित विभिन्न शैक्षिक संस्थामा विस्फोटक पदार्थ (बम) राखिएको छ र आज १६ बजेसम्म पड्किनेछ’ भन्ने गलत सूचना दिँदै सार्वजनिक शान्तिमा खलल पुर्‍याइएको थियो ।

घटना सम्बन्धमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानका क्रममा संलग्न व्यक्तिको पहिचान गरी काठमाण्डु महानगरपालिका–१० नयाँबजार कीर्तिपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्ति महोत्तरी जिल्लाका ३८ वर्षीय जयरुद्र झा भएको प्रहरीले जनाएको छ ।

उनी हाल काठमाण्डुको कीर्तिपुर नगरपालिका–१० मा बस्दै आएका थिए । पक्राउ परेका झालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डु पठाइएको छ ।

प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार यसरी झूटा अफवाह फैलाउने कार्यलाई गम्भीर अपराधका रूपमा लिई कानूनी कारबाही अघि बढाइनेछ ।