अख्तियारको नक्कली कर्मचारी बनेर १ करोड माग्ने २ जना पक्राउ

अख्तियारको नक्कली कर्मचारी बनेर १ करोड माग्ने २ जना पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनेर धम्की दिने २ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको टोखा नगरपालिका–८ स्थित बस्ने व्यक्तिलाई उनीहरूले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भनी जानकारी दिएका हुन् ।

‘तपाईं वा तपाईंको परिवारको नामको नेपाली नागरिकता नक्कली रहेको पाइएको छ, यदि १ करोड दिएमा फाइल बन्द गरिन्छ, नत्र तपाईंहरू सबैलाई जेल हालिन्छ’ भनी बारम्बार फोन गरी डर त्रास देखाइएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा मंगलबार काठमाण्डु महानगरपालिका–१४ कलंकीबाट प्रहरी टोलीले लक्ष्मण पनेरु र विनोद साहलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डु पठाइएको छ ।

पक्राउ पर्ने व्यक्तिहरूमध्ये लक्ष्मण पनेरु २७ वर्षका छन् । उनी डोटीको शिखर नगरपालिका–९ सुण्ड स्थायी ठेगाना भई हाल काठमाण्डुको कीर्तिपुर नगरपालिका–८ पाँगा बस्दै आएका थिए । पक्राउ परेका अर्का व्यक्ति ५४ वर्षीय विनोद साह झापाको हरिनगर गाउँपालिका–७ हरिनगर स्थायी ठेगाना भई हाल काठमाण्डु महानगरपालिका–४ सुकेधारा बस्दै आएका थिए ।

प्रहरीले उनीहरूबाट विभिन्न कम्पनीका ४ वटा मोबाइल, २ लाख रुपैयाँ नगद र सेतो रंगको गाडी बरामद गरेको छ ।

प्रहरी उपरीक्षक अंगुर जिसीले पक्राउ परेका व्यक्तिहरूको योजनाबद्ध अपराधमाथि कानूनी कारबाही अगाडि बढाइएको जानकारी दिए ।