जीएसआई प्रस्तावबारे प्रधानमन्त्रीको जवाफ माग्दै सदनबाट बाहिरिए रास्वपा र राप्रपा

जीएसआई प्रस्तावबारे प्रधानमन्त्रीको जवाफ माग्दै सदनबाट बाहिरिए रास्वपा र राप्रपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बिहीबार पनि संसद बैठक बहिष्कार गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाबाट अशोक चौधरी र राप्रपाबाट धवलशमशेर राणाले आफ्नो भनाई राखेपछि बैठक बहिष्कार गरेर सदनबाट बाहिरिएका छन् ।

यो सँगै रास्वपा र राप्रपाले बैठक बहिष्कार गरेको एक सय एक दिन पुगेको छ ।

उनीहरुले जेठ १३ गतेदेखि भिटिज भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर निष्पक्ष छानविनको माग गर्दै सदन बहिष्कार गर्दै आइरहेका छन् ।

आजको बैठकमा रास्वपाका सांसद अशोक चौधरीले लाखौँ नेपालीको रोजगारी, व्यवसाय सामाजिक सञ्जाल बन्द गर्न नहुने बताए ।

उनले भने, ‘नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या ९० प्रतिशत नाघिसकेको छ। लाखौँ नेपालीको रोजगारी, व्यवसाय डिजिटल प्लेटफमसँग गाँसिएको छ। तर सरकार धम्कीको शैलीमा फेसबुक, युट्युब बन्द गर्ने कुरा गर्छ। सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने कुरामा कसैको असहमति छैन।

यस्तै राप्रपाका सांसद धवलशमशेर राणाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय बाहिर आएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ दिनुपर्ने बताएका छन् ।

‘छलफलको एजेन्डामा नै नआएको भनिएको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय आएको छ,’ राणाले संसद्मा प्रश्न गर्दै भने, ‘यस सन्दर्भमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्छ ।’ उनले भने ।