काठमाण्डु – नेपाल र बंगलादेशबीच शनिबार पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।
काठमाण्डुस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजेदेखि शुरु हुनेछ । फिफा विन्डोअन्तर्गत हुन लागेको दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।
नेपालको सिनियर टोलीले करिव २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो ।
नेपालका मुख्य प्रशिक्षक म्याट रसले जित निकाल्ने गरी खेल प्रस्तुत गर्ने बताएका छन् । उनले बंगलादेशको टोली राम्रो भएको र राम्रो प्रतिस्पर्धा हुने उल्लेख गरे ।
त्यस्तै बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले नेपाल आउनुअघि राम्रो तयारी भएको बताउँदै यहाँ आएर खेल्न उत्साहित रहेको बताएका छन् ।
नेपालका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताएका छन् ।
त्यस्तै, नेपाल र बंगलादेशबीच हुने दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ । दुवै खेलबाट स्पष्ट नतिजा नआए दोस्रो खेलपछि पेनाल्टी सुटआउट मार्फत विजेता टुंग्याइने एन्फाले जनाएको छ। विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्।




प्रतिक्रिया