एमाले विधान महाधिवेशन : समूहगत प्रस्तुतीकरण सकियो, ओली निर्विकल्प रहेको जोड

एमाले विधान महाधिवेशन : समूहगत प्रस्तुतीकरण सकियो, ओली निर्विकल्प रहेको जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एमालेको दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण सकिएको छ । लतिलपुरको गोदावरीमा जारी महाधिवेशन केन्द्रमा आइतबार तेस्रो दिन १० समूहमा विभाजन गरिएका महाधिवेशन प्रतिनिधिको समूहद्वारा प्रतिवेदनमाथिको प्रस्तुतीकरण सम्पन्न भएको हो ।

समूहगत नेताले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनसहित आयोगका प्रतिवदेनहरूमाथि केही सुझावसहित मूल अवधारणामा सहमत भएका छन् ।

छलफल प्रतिवेदन पेस गर्दै समूहगत नेताहरूले भावी पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशबाट कृष्णप्रसाद जैसीले महाधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनपूर्ण सहमति जनाएको बताए ।‘अहिले पार्टी नेतृत्वका लागि अध्यक्ष ओलीको विकल्प नरहेको निष्कर्ष हाम्रो समूहको ठहर छ!, जैसीले भने ।

यस्तै कर्णाली प्रदेशका अध्यक्ष एवं समूहगतका नेता गुलाबजङ्ग शाहले वर्तमान अवस्थामा नेतृत्वलाई थप स्थापित र सशक्त बनाउनुपर्ने समय आएकाले पार्टीको भावी नेतृत्वमा अध्यक्ष ओलीको विकल्प नरहेको बताए । लुम्बिनी प्रदेश अध्यक्ष तथा समूहगतका नेता राधाकृष्ण कँडेलले नेपाली विशेषताका आधारमा समाजवाद निर्माण गर्न नेतृत्व स्थापित गरिनुपर्ने भएकाले पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

मधेस प्रदेशका अध्यक्ष एवं समूहगत नेता चन्द्रेश्वर मण्डलले आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष ओलीलाई नेतृत्व दिनुपर्नेमा जोड दिए ।

संगठन विभागका प्रमुख राजेन्द्र गौतमले भने, ‘छलफलका क्रममा हरेक समूहबाट दुईतीन जनाले मात्रै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता नवीकरण गर्नहुँदैन भन्ने पार्टी निर्णयका विपक्षमा आफ्ना विचार राख्नुभएको छ । दशवटै समूहबाट जोड्दा त्यसरी विचार राख्ने कमरेडहरुको सङ्ख्या २५ जना मात्रै छ ।’

समूहगत नेताको सुझावसहितको प्रस्तुतीकरणपछि प्रतिवेदनमाथि आएका सुझावमा सम्बन्धित नेताहरूले जवाफ दिने छन् । त्यसपछि सुझावसहित पार्टीको विधान पारित गरिने छ ।

‘निर्णायक राष्ट्रियशक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि सुरु भएको हो ।

महाधिवेशनमा प्रस्तुत सबै प्रतिवेदन र पार्टीले गरेको निर्णणप्रति समर्थन भए पनि देशको पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता पाउँ भनेर गरेको अपिलमा पार्टी लचिलो हुनुपर्ने उनको भनाइ छ ।

समूह छलफलमा वाग्मती प्रदेशका अधिकांश प्रतिनिधिहरुले देशको गरिमाका रुपमा रहेका पुर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्किन नहुने तर्क गरेका छन् ।