एमालेको घोषणा : जबज नै मार्गदर्शक सिद्धान्त, अध्यक्ष ओलीलाई मार्गप्रशस्त

एमालेको घोषणा : जबज नै मार्गदर्शक सिद्धान्त, अध्यक्ष ओलीलाई मार्गप्रशस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा ३ दिनसम्म सञ्चालन भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले जनताको बहुदलीय जनवाद (जबज) लाई नै पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

जननेता मदन भण्डारीपत्नी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले संस्थापनबिच टकराव चलिरहेका बेला अध्यक्ष ओलीले छुट्टै सिद्धान्त ल्याउनसक्ने चर्चाबीच एमालेले जबजलाई नै उन्नत बनाउने निर्णय गरेको हो ।

महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रतिवेदनसहित ७ प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । यससँगै केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगका प्रतिवेदन समेत अनुमोदन गरिएका छन् ।

समूहगत छलफलका क्रममा सातै प्रदेश, केन्द्रीय निकाय, विभाग र विदेशस्थित सम्पर्क समितिका प्रतिनिधिहरूले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । छलफलपश्चात प्रस्तुत सुझाव तथा जिज्ञासाको जवाफ अध्यक्ष ओली, उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले दिएका थिए ।

महाधिवेशनले अध्यक्ष ओलीको मार्गप्रशस्त हुने गरी ७० वर्षे उमेरहद र २ कार्यकालको सीमालाई हटाउँदै विधान संशोधन गरेको छ । अब अध्यक्ष ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष बन्न पाउने भएका छन् ।

राजनीतिक प्रतिवेदनमाथि बोल्दै अध्यक्ष ओलीले जबजलाई कुनै कानून नभई मार्गदर्शक सिद्धान्तका रूपमा बुझ्नुपर्ने स्पष्ट पारे । उनले मार्क्सवादलाई नेपाली परिस्थितिअनुकूल जबजको रूपमार्फत कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने रणनीति अघि सारे । ‘सही नीति र विचारलाई जनतामा पुर्‍याउँदै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा उभ्याउन सक्छौं,’ उनले भने ।

विधान संशोधन प्रस्तावबारे प्रस्ट पार्दै उपाध्यक्ष पौडेलले एमाले जबजबाट ‘डिरेल’ भएको प्रायोजित प्रचार निन्दनीय भएको बताए । उनले नेपाली मौलिकता र विशेषतामा आधारित समाजवादप्रति एमाले प्रतिबद्ध रहेको भन्दै आगामी निर्वाचनमा अध्यक्ष ओलीको नेतृत्वमा बहुमतको सरकार गठन गर्न ‘मिसन २०८४’ सफल बनाउनु आवश्यक रहेको बताए ।

महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदनमाथि आएका सुझावको जवाफ दिँदै जबजलाई अझ विकसित र समुन्नत बनाउँदै पार्टी अघि बढ्ने बताए । उनले एमालेलाई २०८४ को निर्वाचनमा एकल बहुमत दिलाउन संगठनात्मक सुदृढीकरणलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् ।

भदौ २०–२२ गतेसम्म सञ्चालन भएको महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित कुल २ हजार ३४१ जनाको उपस्थिति थियो । विक्रम संवत् २०७८ असोजमा पहिलो विधान महाधिवेशन सम्पन्न गरिसकेको एमालेले यसपटक दोस्रो विधान महाधिवेशन सम्पन्न गरेसँगै अब आसन्न राष्ट्रिय महाधिवेशनमा ध्यान केन्द्रित गर्ने जनाएको छ ।