काठमाण्डु – नेकपा एमालेले राजधानीमा सोमबार भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा भएको ठूलो जनधनको क्षतिले मर्माहत बनेको जनाएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सोमबार साँझ विज्ञप्ति जारी गर्दै घटनालाई र घाइतेको ‘हृदयविदारक र दु:खद घटना’ भनेका छन् ।
जेन–जीले काठमाण्डुमा आयोजना गरेको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाण्डु र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । घटना निकै हृदयबिदारक र पीडादायी भएको एमालेले बताएको छ ।
‘आज मुलुकमा जेनजी नेपालको आयोजनाका नाममा भएको आन्दोलनले । हिंसात्मक रूप लिएपछि दर्जनौं व्यक्तिको मृत्यु भएको छ । ठूलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ । यो एउटा हृदयविदारक र दु:खद घटना हो,’ एमाले प्रचार विभाग प्रमुख गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एमालेले घटनामा मृत्युवरण गर्नेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घटनामा मृत्युुवरण गर्नेहरू परिवारजनमा गहिरो समवेदना प्रकट पनि गरेको छ ।
‘हाम्रो पार्टी नेकपा एमाले आज भएको घटनामा मृत्युुवरण गर्नेहरू परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै आन्दोलनकारी र सरकारलाई संयमताका साथ वार्ताद्वारा समस्याको समाधान गर्न आग्रह गर्दछ,’ एमालेले भनेको छ । एमालेले घाइतेको यथाशीघ्र उपचारको प्रबन्ध गर्न सरकारसँग माग पनि गरेको छ ।




प्रतिक्रिया