काठमाण्डु– ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह ‘टक्ला’ पक्राउ परेका छन्।
काभ्रे जिल्लाको मंगलटार क्षेत्रबाट इलाका प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।
टक्लालाई अब बाँकी कैद भुक्तानका लागि पुनः कारागार पठाउने तयारी भइरहेको छ।
जेनजी आन्दोलनकै बीचमा नख्खु कारागारमा भएको आगजनी र तोडफोडपछि टक्लालगायत कैदीहरू फरार भएका थिए।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेलाई सुरुमा बाहिर निकालिएपछि कारागारमा अराजक स्थिति सिर्जना भएको थियो। त्यसकै क्रममा जन्मकैदको सजाय काटिरहेका टक्ला पनि निस्कन सफल भएका थिए।
टक्ला करिब १२ वर्षदेखि कारागारमा थिए। उनी पूर्वराज्यमन्त्री समेत रहेकाले उनको नाम लामो समयदेखि चर्चामा रहँदै आएको छ। २०६९ वैशाख १८ गते जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोटमा पाँच जनाको ज्यान गएको थियो, जसको मुख्य योजनाकारका रूपमा उनलाई जन्मकैदको सजाय सुनाइएको हो।
त्यसैगरी, अदालतले जनकपुरका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डमा समेत उनलाई मुख्य योजनाकार ठहर गरेको छ।




प्रतिक्रिया