बलिदानबाट आएको परिवर्तनमा यसअघि काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं : सुमना श्रेष्ठ

बलिदानबाट आएको परिवर्तनमा यसअघि काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं : सुमना श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी नहुने स्पष्ट गरेकी छन्।

शुक्रबार साँझ शीतल निवासमा सम्पन्न शपथ ग्रहण समारोहमा उपस्थित भएपछि उनलाई पनि मन्त्री बन्न सक्ने चर्चा चलेको थियो। तर, फेसबुक लाइभमार्फत उनले आफूप्रति फैलिएको भ्रमलाई अस्विकार गर्दै भनिन् “म मन्त्रिपरिषद्मा जान चाहन्नँ, कृपया भ्रममा नपर्नुहोस्।”

श्रेष्ठले हालैको जनआन्दोलनमा ज्यान गुमाएका युवाप्रति स्मरण गर्दै मन्त्री पद स्वीकृत गर्न नचाहेको बताइन्। उनले भनिन्र “कलिला दाजुभाइ र दिदीबहिनीहरूको दाहसंस्कार अझै सकिएको छैन। उनीहरूको बलिदानबाट आएको परिवर्तनलाई सत्ता र पदमा सीमित गर्न मिल्दैन। अब संस्कार परिवर्तनमा ध्यान दिनुपर्छ।”

सरकारलाई शुभकामना दिँदै उनले राजनीतिक नेतृत्वलाई सेवामुखी बन्न आह्वान गरिन्। “अब सत्ता होइन सेवा सोचौं, कुर्सी होइन कर्म सोचौं। नाम होइन कामले बोल्नुपर्छ,” उनले जोड दिइन्।

श्रेष्ठले आफू मन्त्री नभए पनि परिवर्तनलाई सफल बनाउन पछाडि बसेर सहयोग गर्ने प्रतिबद्धता जनाइन्।“हामीले यो परिवर्तनलाई सफल बनाउनैपर्छ, त्यसका लागि जहाँबाट सके सहयोग गर्नेछु,” उनले भनिन्।