नख्खु कारागार जाँदै रवि लामिछानेले सरकारसँग राखे यी मागहरू

नख्खु कारागार जाँदै रवि लामिछानेले सरकारसँग राखे यी मागहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुन: नख्खु कारागार जाँदै सरकारसँग माग राखेका छन् ।

जेनजी आन्दोलनका क्रममा जेलबाहिर आएका उनी आफ्नो जन्मदिनकै दिन पुन: कारागार प्रवेश गर्दै सामाजिक सञ्जालमार्फत लामो वक्तव्य सार्वजनिक गरेका छन् ।

उनले जन्मदिनको उपहारस्वरूप फेरि जेल फर्किन लागेको उल्लेख गर्दै विगतमा भोगेको राजनीतिक प्रतिशोध, अहिलेको बदनाम गर्ने अभियान र मुलुकले लिनुपर्ने बाटोबारे धारणा राखेका छन् ।

लामिछानेले कारागारबाट केही दिन अगाडि जारी गरिएको पत्र सम्बन्धी विवादका विषयमा प्रष्ट पार्दै त्यसका कारण कुनै कर्मचारी वा सचिवलाई अप्ठ्यारो नपरोस् भनेर आफू जिम्मा लिन तयार भएको बताएका छन् । उनले प्रशासनले आफूलाई जोगाएको नभई जेललाई जोगाउन खोजेको तर अहिले उल्टै आफ्नो कारण कैदी भागे भन्ने प्रचार गरिएकोप्रति चित्त दुखाएका छन् ।

आन्दोलनका क्रममा भएको दमनप्रति उनले गहिरो आक्रोश व्यक्त गरेका छन् । बालबालिकाको टाउकोमा ताकीताकी गोली प्रहार गर्नेहरू र राज्यका संरचनामा आगजनी गर्नेहरू दुवै पक्षमाथि छानबिन गरी तत्काल कानूनी दायरामा ल्याउनुपर्ने उनको माग छ । उनले सरकारलाई आन्दोलनका पहिलो दिनको दमन र दोस्रो दिनको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् ।

उनले २०४६ सालपछिका सम्पूर्ण नीतिगत निर्णय र उच्च पदस्थ व्यक्तिहरूको सम्पत्तिको छानबिन हुनुपर्ने माग गरेका छन् । देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकैपटक रद्द गर्नुपर्ने, कर्मचारीदेखि न्यायपालिकासम्म पुनर्नियुक्तिको बाटो खोल्नुपर्ने र सबैले फेरि जाँच दिनुपर्ने उनले स्पष्ट पारेका छन् । विश्वविद्यालयदेखि राजदूत नियुक्तिसम्म मेरिटोक्रेसी कायम गर्नुपर्ने उनको जोड छ ।

उनले पुराना राजनीतिक दलप्रति प्रतिशोधको भावना नराख्ने बताउँदै स्वस्थ चुनावी प्रतिस्पर्धाबाट मात्रै पराजित गर्न सक्ने क्षमतामा नयाँ पुस्ता सक्षम हुनुपर्ने बताए । पार्टीभित्रका साथीहरूप्रति कुनै गुनासो नभएको स्पष्ट पार्दै उनले पार्टी कब्जा गर्ने होइन, नयाँ पुस्ताले मिलेर पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् ।

रवि लामिछानेले आफू जनताको आन्दोलनप्रति प्रतिबद्ध रहेको बताउँदै सरकार सही बाटोमा हिँडेको खण्डमा सम्पूर्ण शक्ति र सामर्थ्य सरकारको सफलतामा समर्पित गर्ने वचन दिए । आन्दोलनका क्रममा परिवार गुमाएका पीडितहरूसँगै आफू उभिने र आवश्यक परे नख्खु कारागारमै भेट्न आउन आग्रह समेत गरेका छन् ।