राष्ट्रपति पौडेलको अपिल : चुनाव सम्पन्न गराउने काममा सहयोग गर्नू

राष्ट्रपति पौडेलको अपिल : चुनाव सम्पन्न गराउने काममा सहयोग गर्नू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक गम्भीर संकट र चुनौतीपूर्ण परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै आगामी माघ २१ गते हुने चुनाव सफल पार्न सबैलाई सहयोग गर्न अपिल गरेका छन् ।

राष्ट्रपतिले शनिबार जारी गरेको सन्देशमा संविधान बाँचेको, संसदीय प्रणाली बाँचेको र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको स्पष्ट उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा विघटनपछि ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी लोकतन्त्रको बाटोमा अघि बढ्ने अवसर प्राप्त भएको भन्दै उनले जनतालाई त्यो अवसर सदुपयोग गर्न आह्वान गरेका छन् ।

राष्ट्रपति पौडेलले भने, ‘देशको अत्यन्त असहज, विपत्तिपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बाँचेको छ, संसदीय प्रणाली बाँचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी अब अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्ने जनताले अवसर पाएका छन् ।’

चुनाव लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने माध्यम भएकाले सबै राजनीतिक दल, जनसमुदाय र सरोकारवालाले संयमित भई सहभागिता जनाउन राष्ट्रपतिले आग्रह गरे । उनले जनताले प्राप्त गरेको अवसरको सदुपयोग गर्दै चुनाव सम्पन्न गराउनतर्फ सक्रिय सहयोग गर्न विशेष आह्वान गरेका छन् ।

माघ २१ गतेका लागि तोकिएको निर्वाचन लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने महत्त्वपूर्ण क्षण भएको भन्दै राष्ट्रपतिले त्यसलाई सफल बनाउन सम्पूर्ण पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।