काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्तरिम सरकारसँगको अपेक्षा र घोषित लक्ष्यहरूबाट नवगठित सरकार च्यूत भए प्रतिरोध हुने जनाएको छ ।
पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय हित, एकता र सौहार्द्रता प्रवर्द्धनमा सहयोगी भूमिकामा रहने जनाएको छ ।
‘घोषित लक्ष्यहरूबाट सरकार च्यूत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा आफूहरू सहयोगी भूमिकामा रहनेछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
जेनजी आन्दोलनबाट मुलुकले प्रथम महिला प्रधानमन्त्री प्राप्त गरेकोमा पार्टीको समर्थन रहे पनि संविधान पालनाको कोणबाट प्रश्न उठेको रास्वपाले जनाएको छ । अन्तरिम सरकारबाट आगामी फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने अपेक्षा गरिएको छ ।
शान्तिपूर्ण सत्ता हस्तान्तरणका साथै लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिमा बाँधिएको असल शासनअनुरूप चरम भ्रष्टाचार र दण्डहिनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तरराष्ट्रिय सम्बन्ध एवं द्रूतगतिमा विकासको अपेक्षा रहेको रास्वपाले जनाएको छ ।




प्रतिक्रिया