प्रधानमन्त्री कार्की आज पदबहाली गर्दै

प्रधानमन्त्री कार्की आज पदबहाली गर्दै

पुरानो गृह मन्त्रालयको नयाँ भवनबाट काम थाल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदबहाली गर्दै छन्। पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा अन्तरिम सरकारकी नयाँ प्रधानमन्त्री कार्कीले पदबहाली गर्नेछन् ।

प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठका अनुसार आइतबार बिहान ११ बजे प्रधानमन्त्री कार्कीले नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो। नयाँ प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई उपस्थित हुन बोलाइएको छ।

प्रधानमन्त्री कार्की शुक्रबार साँझदेखि नै बालुबटारस्थित प्रधानमन्त्री निवासमा बस्न थालेकी छन्।

मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगलगाी हुँदा बचेका सामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ।

शुक्रबार बिहान मुख्यसचिव एकनारायण अर्याल लगायतका कर्मचारीले नयाँ प्रधानमन्त्रीलाई उपयुक्त कार्यालय खोजेका थिए।

उनीहरूले गृह मन्त्रालय परिसरमा सोही मन्त्रालयका लागि बनाइएको नयाँ भवन प्रधानमन्त्रीको कार्यालय बनाउन उपयुक्त भएको ठहर गरेका थिए। नयाँ भवनको सरसफाइ, आन्तरिक सजावट तथा अन्य व्यवस्थापन भइसकेको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पथ ग्रहण गरेर बालुवाटार फर्किएकी उनी शनिबार बिहानैदेखि राजकाजमा सक्रिय भइन्।

उनले शनिबार जेन जी आन्दोलनका क्रममा घाइते भएकाहरूको अवस्था बुझ् अस्पताल गइन् भने आन्दोलनमा ज्यान गुमाउनेहरुको शव व्यवस्थापन र पीडित परिवारलाई तत्काल राहतका विषयमा सरकारी अधिकारीहरुसँग छलफल गरिन्।

त्यस्तै क्षतिग्रस्त संरचनाहरुको विवरण लिइन्।