जेनजी आन्दोलनमा आगजनी र डकैती गरेको भन्दै एनसेलले गर्‍यो उजुरी दर्ता

जेनजी आन्दोलनमा आगजनी र डकैती गरेको भन्दै एनसेलले गर्‍यो उजुरी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भदौ २४ गते ‘जेनजी’ आन्दोलनको आवरणमा अपराधी समूहले काठमाण्डुको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा ठूलो मात्रामा तोडफोड, आगजनी र डकैती गरेका छन्।

कम्पनीको सम्पत्तिमा ठूलो आर्थिक तथा भौतिक क्षति पुगेपछि एनसेलले सोमबार जिल्ला प्रहरी कार्यालय, काठमाण्डुमा आधिकारिक उजुरी दर्ता गराएको छ।

उजुरीमा तोडफोड र डकैतीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन, लुटिएका सामान फिर्ता दिलाउन र क्षतिपूर्ति दिलाउन माग गरिएको छ।

एनसेलका अनुसार प्रदर्शनकारीहरूले सुरक्षाकर्मीहरूलाई धम्की दिँदै कोठामा थुनेर भवनमा प्रवेश गरेका थिए। कार्यालयको ग्राउन्ड फ्लोरदेखि माथिल्ला सबै तलामा रहेको कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फिटनेस उपकरण, लकरमा रहेका ल्यापटप र कर्मचारीका व्यक्तिगत सामान, नगद तथा महँगा मोटरगाडीहरू समेत तोडफोड र लुटपाटमा परेका छन्। केही गाडीहरूलाई कार्यालय परिसरमै आगजनी गरी पूर्णरूपमा क्षति पुर्‍याइएको छ।

कम्पनीले क्षतिको यथार्थ मूल्याङ्कनको काम भइरहेको र लुटिएका सम्पत्तिको सूची तथा घटनाका सीसीटीभी फुटेज अनुसन्धानका लागि प्रहरीलाई बुझाइसकेको जनाएको छ।

यसबीच, ग्राहक सेवा अवरुद्ध नहोस् भनेर एनसेलले केही दिनका लागि निःशुल्क भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ। साथै, कम्पनीले “हामी पुनः उठ्नेछौँ” भन्दै क्षति भएको संरचना पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।