काठमाण्डु – जेनजी आन्दोलनको जगमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहिद घोषणाको साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरेको गृह एवं कानून मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
उनले भने, ‘जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय भएको छ । असोज १ गते शोक दिवस मनाउनका लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरिएको छ ।’
उनले क्षतिपूर्तिको हकमा १० लाख र अन्य खर्चबापत ५ लाख गरेर १५ लाख अर्थ मन्त्रालयमार्फत वितरण गर्ने निर्णय भएको पनि जानकारी दिए ।
सोमबारको बैठकबाट आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने र जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय पनि भएको छ ।
जाँचबुझ र पार्क स्थापनाको निर्णय सैद्धान्तिक भएकाले थप निर्णय छलफलपछि गरिने उनले बताए ।





प्रतिक्रिया