काठमाण्डु – नेपाल र इन्डोनेसियाबीच २,००० माइलको दूरी छ । तर सरकारविरुद्ध यी दुवै देशमा हालै भएका घातक प्रदर्शनबीच केही समानता छ । त्यो के भने दुवै देशमा जेन जीले गरेको प्रदर्शनले सत्ता ढलेको छ, सरकार हल्लाएको छ ।
यी दुबै एशियाली लोकतन्त्रमा ३० वर्षभन्दा कम उमेरका मानिसहरू जनसंख्याको करिब आधा हिस्सा भए पनि उनीहरूको क्रोधका तत्काल कारण भने फरक थिए ।
नेपालमा जेन जी प्रदर्शन सामाजिक सञ्जाल प्रतिबन्धबाट सुरु भयो । उता इन्डोनेसियामा सरकारी अधिकारीहरूलाई दिइएका विलासी सुविधा विरुद्धको आक्रोशले आन्दोलन भड्कियो ।
तर दुवै ठाउँमा रोजगारीको कमी, व्यापक भ्रष्टाचार र बढ्दो आर्थिक असमानताप्रति आक्रोशित युवाहरू नै प्रमुख शक्ति बने ।
‘युवाहरूलाई जोखिमपूर्ण खालका रोजगारीमा धकेलिएको छ, शिक्षित युवाहरू समेत सुरक्षित महसुस गरिरहेका छैनन्’ अष्ट्रेलियाको मेलबर्न विश्वविद्यालयको एशिया इन्स्टिच्युटका एशियाली अध्ययनका प्राध्यापक वेदी हाडिज भन्छन् ।
विश्व बैंकका अनुसार गतवर्ष इन्डोनेसियामा १५–२४ उमेर समूहका झण्डै १४ प्रतिशत बेरोजगार थिए । नेपालमा यो संख्या अझै उच्च २० प्रतिशत छ ।
यसले धेरै युवालाई कामको खोजीमा भारत वा मध्यपूर्वतर्फ पलायन गर्न बाध्य बनाएको छ, जहाँ उनीहरू प्रायः श्रमिकका रूपमा कार्यरत हुन्छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्डोनेसियामा १९ प्रतिशत र नेपालमा १० प्रतिशत शुल्क लगाइँदा चिन्ता झन् बढेको छ ।
‘हाम्रो अन्तिम लक्ष्य भनेको सरकारमा पारदर्शिता ल्याउनु र वर्षौँदेखि देशका लागि केही नगर्ने पुराना नेताहरूले पद छोड्नु हो, अनि पुराना सम्बन्ध नभएका नयाँ नेतृत्व आउनु हो,’ काठमाण्डुमा मंगलबार प्रदर्शन गरिरहेका २८ वर्षीउ आईटी सुरक्षा विश्लेषक सहज श्रेष्ठले भने ।
युवाहरूले काठमाण्डुका ३५ वर्षे मेयर बालेन्द्र शाहलाई आफ्ना प्रतीक नेताका रूपमा देखेका छन् । पूर्व र्यापर शाह सामाजिक सञ्जालमा सक्रिय छन् र भ्रष्टाचार, सामाजिक अन्याय तथा सरकारी असफलताविरुद्ध कडा रूपमा बोल्छन् । कतिपयले उनलाई देशको नयाँ नेता बनाउनुपर्ने माग समेत गरेका छन् ।
शाहले भने आफूले प्रदर्शनमा भाग नलिएको तर प्रदर्शनकारीको माग सुन्नु जरुरी भएको बताएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि उनले प्रदर्शनकारीलाई धैर्य र संयमता अपनाउन आग्रह गर्दै इन्स्टाग्राममा लेखे, ‘अब तपाईंहरूको पुस्ताले देश नेतृत्व गर्नुपर्नेछ ! तयार रहनुहोस् !’
अधैर्य पुस्ता
नेपाल र इन्डोनेसियाका दुवै आन्दोलन घातक बने । नेपालमा थुप्रै सरकारी भवन र नेताहरूका घरमा आगजनीसँगै कम्तीमा ७२ जनाको मृत्यु भयो ।
इन्डोनेसियामा भने पाँच दिनको आन्दोलनमा १० जनाको मृत्यु भएको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ । तर यी आन्दोलनहरूले दुबै देशमा सरकार परिवर्तन गर्न पनि बाध्य पारे ।
नेपालमा करिब ३ करोड जनसंख्या भएको मुलुकमा ७३ वर्षे ओलीलाई हटाएर विद्यार्थी आन्दोलनकारीहरूले रोजेकी सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाइएको छ । उनी देशकी पहिलो महिला प्रधानमन्त्री बनेकी हुन् । नेपालमा अन्तरिम सरकाले आगामी फागुन २१ गते प्रतिनिधिसभाको आम निर्वाचनको घोषणा गरिसकेको छ ।
इन्डोनेसियामा राष्ट्रपति प्राबोवो सुबियान्तोले सरकारी सुविधा फिर्ता लिँदै अर्थमन्त्री र गृहमन्त्रीसहित पाँच मन्त्रीलाई बर्खास्त गरे ।
तर दुवै देशका सुरक्षा अधिकारीहरूले प्रदर्शनमा भएको हिंसा र तोडफोडलाई नियन्त्रण गर्ने चेतावनी दिँदा त्यसले झन् आन्दोलनलाई उकास्यो । जसका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल हुँदै थप युवाहरू सडकमा उतरेका थिए ।
इन्डोनेसियामा सांसदहरूलाई ३,००० डलर मासिक आवास भत्ता दिने समाचारपछि आक्रोश चुलिएको थियो । जुन राजधानी जाकार्ताको न्यूनतम तलबको १० गुणा हो ।
प्रदर्शन हिंसात्मक बनेपछि स्थिति झन् बिग्रियो । विशेषगरी २१ वर्षे डेलिभरी राइडर अफ्फान कुर्नियावानलाई प्रहरीको बख्तरबन्द गाडीले किचेर मारिदिएको समाचार सार्वजनिक भएपछि । उक्त भिडियोले आम आक्रोश थप भड्काएको थियो ।
‘मानिसहरूले अनलाइनमा पोस्ट गर्न थाले, प्रहरीलाई आलोचना गर्न थाले, सरकारप्रति आक्रोश पोख्न थाले,’ इन्डोनेसियाकी मानवशास्त्रकी प्राध्यापक क्रिस्टिना पर्टीवी भन्छिन् । ‘सामान्यतया मौन बस्नेहरू समेत यो भिडियो देखेपछि खुला रूपमा क्रोधित भए’, उनले भनिन् ।
नेपाली युवाको दृष्टि
स्यान फ्रान्सिस्कोस्थित साइबर सुरक्षा स्टार्टअप सिक्युरिटीपल एआईका संस्थापक पुकार हमाल भन्छन्, ‘जेन जी सधैं अधैर्य पुस्ता हो किनभने उनीहरूलाई प्रगति छिटो चाहिन्छ ।’
‘उनीहरूले समाजलाई छिट्टै तुलना गर्न सक्छन् । सिंगापुर, दुबई, अमेरिका, हङकङको झलक हेरेपछि आफ्नै देशमा प्रयास र प्रगतिबीचको सम्बन्ध भंग भएको महसुस हुन्छ’, उनी भन्छन् ।
नेपालका जेन जी प्रदर्शनकारीहरूले ‘नेपो किड्स’ (राजनीतिज्ञ वा धनी परिवारका विशेषाधिकार प्राप्त सन्तान) को विलासी जीवनशैलीप्रति आक्रोश पनि व्यक्त गरेका छन् ।
‘जब तपाईं आफ्नै देशका केटाकेटीहरूलाई विशेषाधिकारसहित देख्नुहुन्छ, जुन उनीहरूको व्यक्तिगत मेहनत नभई पारिवारिक पृष्ठभूमिका कारण हो, त्यस्तो अवस्थामा ठूलो असन्तोष पैदा हुन्छ’, हमाल भन्छन् ।




प्रतिक्रिया