काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ २४ को जेन जी विद्रोहपछि भएको विषम राजनीतिक परिस्थितिमा आफूले प्रधानसेनापति अशोक सिग्देलसँग लगातार वार्ता र छलफल गरेर देश जोगाएको दाबी गरेका छन् ।
संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पार्टीले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले दाबी गर्दै भने, ‘नेपाल आर्मीको चिफसँग रातभर वार्ता र छलफल गरेर राष्ट्रपति र संविधान जोगाएको हुँ ।’
उनले भने, ‘संसद् विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिको पद नै हटाउने कसरतसम्म भए। तर अन्ततः संविधानलाई जोगाउन सफल भयौँ ।’
अन्तरिम सरकार गठनको प्रक्रियामा गएर भएपनि संविधान बचाउने काममा राष्ट्रपतिको भूमिका प्रसंशनीय रहेको उल्लेख गर्दै उनले प्रधानसेनापतिको भूमिका पनि निकै सकारात्मक देखिएको बताए ।
आगामी ६ महिनाभित्र निर्वाचन गर्न सरकारले घोषणा गरेको प्रसङ्गमा प्रचण्डले त्यसलाई संवैधानिक निकासको अवसरका रूपमा चित्रित गरे।
उनले सबै राजनीतिक शक्ति र जनताले एकजुट भएर निर्वाचन सम्भव गराउनुपर्नेमा जोड दिँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको बाटो संवैधानिक रूपमा खोलिनुपर्ने चाहना व्यक्त गरे।
उनले भने, ‘निर्वाचन सजिलो छैन। तर सबै जेन–जी विद्रोहीदेखि आम नेपाली जनता एकजुट हुने हो भने निर्वाचन सम्भव छ, र निर्वाचनलाई सम्भव गराउनैपर्छ।’
‘मैले सहजीकरणका लागि रातभर जाग्राम बसें, राष्ट्रपतिज्यूसँग, प्रधानसेनापतिसँग र अन्य दलका नेताहरूसँग पनि संवाद गरेँ । अन्तरिम सरकारको अहिले जे रूप देखिएको छ, त्यो हो पुरानो प्रधानमन्त्रीको सिफारिसमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने, नवनियुक्त प्रधानमन्त्रीको सिफारिसमा संसद् विघटन गर्ने’, उनले भने, ‘यो प्रक्रियामा कहीँ–न–कहीँ संविधान बचाउने, संविधानको ऐतिहासिकतालाई आत्मसात् गर्ने भावना अन्तर्निहित रहेको कुरा मैले नजिकबाट देखेको छु।’
‘त्यसकारण हामीले अब निर्वाचन ६ महिनापछि घोषणा गरिएको छ। त्यो घोषित मितिमा नै निर्वाचन होस् र देशले फेरि एउटा नयाँ निकास प्राप्त गरोस्। र त्यसबाट जेनजी आन्दोलनका विद्रोहीहरूको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो फेरि संवैधानिक रूपमा नै खुलोस् भन्ने हाम्रो चाहना छ। त्यसकारण हामी अब कुनै द्विविधामा, भ्रममा नपरीकन यो निर्वाचन सम्पन्न गर्नको लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ’, उनले भने ।
अध्यक्ष प्रचण्डले ठूला भनिने दलहरुको अहंकारले देश भयानक परिस्थतिमा आइपुगेको टिप्पणी गरे ।
तत्कालीन अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन नचाहने र अहिले आफूलाई ठूला दल भन्नेको अहंकारले देश यो परिस्थतिमा आइपुगेको उनले दाबी गरे ।
प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति या पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा माओवादीले निरन्तर वकालत गरेको उल्लेख गर्दै त्यसको ऐतिहासिकता जेन जी विद्रोहले पुष्टि गरेको उल्लेख गरे ।
‘१० वर्षपछि फेरि एकचोटि पुनर्लेखन गरेर या संशोधन गरेर, मुख्यतः संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको छ’। उनले बताए ।
उनले भाद्र २४ गते जेन जीको आन्दोलनमा घुसपैठ वा भयानक डिजाइनमा विध्वंसहरू मच्चाइएको आरोप पनि लगाए ।




प्रतिक्रिया