काठमाण्डु – प्रधानमन्त्री पदबाट राजीनामा दिँदादिँदै पनि जेनजी आन्दोलनबाट लखेटिएर हप्तौंसम्म नेपाली सेनाको सुरक्षा घेरामा बस्नुपरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अर्काे संकट आइलाग्ने भएको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीको कार्यशैली, व्यवहार र विवादका कारण सरकार गुमाउनुपरेको अवस्थामा यसै बेला पार्टीलाई समेत धक्का पुग्ने भएकाले अध्यक्ष पदबाट समेत राजीनामा गराउने तयारी भएको छ ।
जेनजी आन्दोलनले पुराना पुस्ताका विवादित नेताहरूलाई सक्रिय राजनीतिबाट बिदा गर्नुपर्ने आवाज उठाइरहेका बेला एमालेभित्र पनि ओलीको विकल्प खोज्नेबारे छलफल अगाडि बढेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराई सहितका युवा नेताहरूले पार्टी नेतृत्वबारे नयाँ ढंगले अगाडि बढ्नुपर्ने मनस्थिति बनाएका बेला एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधरले ओलीविरुद्ध लिखित प्रस्ताव नै दर्ता गर्ने तयारी गरेका छन् । अध्यक्ष ओलीकै जोडबलमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगरिएको विषयमा पनि पार्टीभित्र विवादको विषय बनेको थियो ।
ललितपुरको गोदावरीमा हालै दोस्रो विधान महाधिवेशन गरेको भोलिपल्टै जेनजी आन्दोलन चर्कियो । महाधिवेशनले ओलीकै नेतृत्वमा एमाले सँगसँगै देशलाई अगाडि बढाउने निष्कर्ष निकालेका बेला चर्किएको जेनजी आन्दोलनले ओलीको नेतृत्व अस्वीकार गर्दै सडकबाटै राजीनामा गर्न बाध्य पार्यो । अध्यक्ष ओलीको इच्छाअनुसार सम्पन्न भएको विधान महाधिवेशनले जनभावना बुझ्न नसकेको, परिस्थितिको विश्लेषण गर्न नसक्दा पार्टीलाई क्षति पुगेकाले अब ओलीको विकल्प खोज्नुपर्ने एमालेका एक नेताले तर्क गरे ।
‘अब ओलीकै नेतृत्वमा एमाले अगाडि बढ्न सक्दैन, पार्टीमा अब नयाँ तरिकाले नेतृत्व विकास गर्नुपर्छ,’ ती नेताले भने, ‘पार्टीको आगामी औपचारिक बैठकमा अध्यक्ष ओलीको राजीनामा माग्ने तयारी छ । लिखित रूपमै प्रस्ताव पेश गरिन्छ ।’
एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराई, नेताहरू कर्णबहादुर थापा र गोकुल बाँस्कोटा लगायत ओलीको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् । प्रधानमन्त्री हुँदा पनि ओलीले पार्टीलाई सही नेतृत्व दिन नसकेको भन्दै देशभर थुप्रै नेता–कार्यकर्ताले पछिल्लो समय पार्टी परित्याग समेत गरेका छन् ।
स्रोतका अनुसार सेनाको निगरानीबाट बाहिरिँदै शुक्रबार औपचारिक कार्यक्रममा देखिएका अध्यक्ष ओलीले संकटको बेला पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उभिनेलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिइरहेका छन् । ‘यतिबेला कुन व्यक्तिको पद संकटमा पर्यो भन्ने मुख्य कुरा हुँदैन, देश र पार्टी संकटमा पार्ने गरी कसैको पद जोगाइदिनु उचित हुँदैन, अब विकल्प खोज्नुपर्छ,’ स्रोतले भन्यो, ‘अब एमालेको नीति र नेतृत्वलाई लोकप्रिय बनाउन नयाँ नेतृत्व स्थापित गरेर जानुपर्छ ।’




प्रतिक्रिया