जनकपुरधाम – जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको मधेश प्रदेशसभा भवनमा प्लास्टिकको कुर्सी राखेर सभा सञ्चालन हुने भएको छ ।
शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाइमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ ।
बैठकमा सभामुख मण्डलले संघीयताको पक्षमा मधेश एकजुट रहेको सन्देश दिन सबै दलहरूबीच सहमति बनेको बताए । प्रदेश सभामा रहेका सबै राजनीतिक दलहरू संघीयताको संरक्षण र सुदृढीकरणका लागि एकसाथ उभिने प्रतिबद्ध जनाएको उनले बताए ।
जेनजी आन्दोलनको क्रममा प्रदेशसभा भवनमा आगजनी, तोडफोड तथा लुटपाट हुँदा सभा सञ्चालन हुने मुख्य भवनसहित परिसरभित्र रहेका अन्य भवन र सवारीसाधन गरी ३० करोड भन्दा बढी क्षति भएको सभामुख मण्डलले जानकारी दिए ।
बैठक बस्ने मुख्य भवन भित्रको फर्निचरसहित सम्पूर्ण सामग्री जलेर ध्वस्त भएकाले हालका लागि साधारण मर्मत गरी प्लास्टिकको कुर्सीमा बैठक सञ्चालन गर्ने तयारी गरिएको सभामुख मण्डलले बताए ।




प्रतिक्रिया