हमासद्वारा सार्वजनिक ४८ बन्दीको संयुक्त ‘बिदाइ तस्वीर’मा विपिनको फोटो

हमासद्वारा सार्वजनिक ४८ बन्दीको संयुक्त ‘बिदाइ तस्वीर’मा विपिनको फोटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हमासको सशस्त्र विंग कासाम ब्रिगेडले गाजा सिटीमा जारी इजरायली आक्रमणबिच ४८ जना इजरायली बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार शनिबार अनलाइनमार्फत सार्वजनिक गरिएको संयुक्त तस्वीरमा जीवित र मृत सबै बन्दीहरूको फोटो देखाइएको छ, जसमा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीको फोटो ३८औं नम्बरमा देखिन्छ ।

सार्वजनिक सबै तस्वीरमा ‘रोन अरद’ भनेर उल्लेख गरिएको छ । रोन अरद सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका पाइलट हुन्, जसलाई सुरुमा अमल आन्दोलनले कब्जा गरेको र पछि हिज्बुल्लाहलाई हस्तान्तरण गरिएको थियो । उनी जीवित छन् वा छैनन् भन्नेबारे ठोस प्रमाण अझै भेटिएको छैन ।

हमासले संयुक्त तस्वीरसँगै प्रधानमन्त्री नेतान्याहूको अस्वीकार र (सेना प्रमुख) जामिरको आत्मसमर्पणका कारण गाजा सिटीमा सैनिक अभियान सुरु हुँदै गर्दा बिदाइ तस्वीर सार्वजनिक गरिएको वक्तव्य जारी गरेको छ ।

इजरायली अधिकारीहरूले करीब २० जना मात्र बन्दी अझै जीवित रहेको अनुमान गरेका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि २० भन्दा कम जीवित हुनसक्ने बताए । नेतान्याहू र ट्रम्प दुवैले बाँकी जीवित तथा मृत बन्दीलाई फर्काउने र हमासलाई ध्वस्त गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

हमासले इजरायली आक्रमण अझै बढे बन्दीहरूको ज्यान खतरामा पर्ने चेतावनी दिँदै आएको छ । केही बन्दीहरू इजरायली बमबारीमै मारिएको दाबी समेत हमासले गरेको छ । बन्दीहरू गाजा सिटीका विभिन्न टोल–वस्तीतिर छरिएर राखिएको दाबी पनि समाचारमा गरिएको छ ।

शनिबारको चेतावनी इजरायलभरका सयौं हजार मानिस पुन: सडकमा उत्रिने तयारी भइरहेका बेला आएको छ । प्रदर्शनकारीहरूले सरकारले युद्ध अन्त्य गरी सबै बन्दीलाई घर फर्काउन तत्काल र व्यापक सम्झौता गर्नुपर्ने माग गर्दै आएका छन् ।

यसअघि पनि हमासले पटक–पटक बन्दीहरूको भिडियो सार्वजनिक गरेको छ । गत महिना प्रसारित भिडियोमा १ बन्दीलाई आफ्नै चिहान खन्न बाध्य पारिएको देखाइएको थियो, जसले इजरायलीभत्र तीव्र आक्रोश जन्माएको थियो ।

गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्तूबर २०२३ देखि सुरु भएको युद्धमा इजरायली आक्रमणबाट अहिलेसम्म कम्तीमा ६५ हजार २०८ फिलिस्तिनी मारिएका छन् भने १ लाख ६६ हजारभन्दा बढी घाइते भएका छन् । गत मार्च १८ मा युद्धविराम तोडिएपछि मात्रै १२ हजार ६५३ जनाको मृत्यु भएको छ ।

इजरायलले गाजालाई नाकाबन्दी गर्दै राहत माग्न पुगेका कम्तीमा २ हजार ५१८ मानिसको ज्यान लिइसकेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै गाजा सिटीमा दर्जनौं मानिस मारिएका, सयौं घर भत्किएका र हजारौं विस्थापित भएका छन् ।