काठमाण्डु – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित नयाँ राजनीतिक शक्ति जनस्वराज पार्टीको घोषणा गरिएको छ ।
असोज ३ र ४ गते जनकपुरमा आयोजित प्रशिक्षण कार्यक्रममार्फत पार्टीको औपचारिक घोषणा गरिएको पार्टी संयोजक इन्जिनीयर दीपकुमार साहले जानकारी दिए ।
घोषणासँगै पार्टीले प्रारम्भिक संरचना बनाएको छ । प्रशिक्षण विभागको संयोजक इन्जिनीयर साह स्वयंलाई बनाइएको छ भने आर्थिक विभागको संयोजक इन्जिनीयर सुरेन्द्रनारायण यादवलाई जिम्मेवारी दिइएको छ ।
साह यसअघि जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष रहेका थिए भने यादव जनमतकै कोषाध्यक्ष थिए । नयाँ पार्टीमार्फत उनीहरूले वैकल्पिक राजनीतिक यात्राको घोषणा गरेका छन् ।
जनस्वराज पार्टीले कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बेथिति र भ्रष्टाचारमुक्त राजनीति, पारदर्शिता र जवाफदेहिता स्थापित गर्ने लक्ष्य लिएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीको निश्चितता तथा मुलुकको आवश्यकता अनुरूप पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइएको छ ।




प्रतिक्रिया