सिरहा – सिरहाको गोलबजार नगरपालिका–१३ डंग्राहा गाउँका १५ वर्षीय बालक अभिषेक सिंह अपहरणमा परेको भन्दै परिवारजनले इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका छन् ।
असोज ५ गते राति ८:३० बजे खाना खाएर घर बाहिर आँगनमा निस्किएका अभिषेक बेपत्ता भए । अभिषेककी आमा, बाजे र बज्यैले रातभरी गाउँ चहारे तर बालक अभिषेक भेटिएनन् ।
असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आईडीबाट उनकी आमाको इमो आईडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको लख काटियो । फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुवैमा ५ करोड उल्लेख गरिएको छ ।
अभिषेकका बुवा सञ्जय सिंहको ७ वर्षअघि करेण्ट लागेर मृत्यु भएको र अभिषेक सिंह परिवारको एक मात्र वारिस भएको वृद्धवयका बाजे लक्ष्मण सिंहले बताए । नाति अपहरणमा परेको थाहा पाएर बिलखबन्दमा परेका बाजे लक्ष्मण सिंह र बालककी आमाले असोज ६ गते मध्याह्नमा आएर इलाका प्रहरी कार्यालय गोलबजारमा लिखित जाहेरी दिएका छन् ।
बालक अपहरणको सूचना पाएपछि प्रहरी अनुसन्धान, खोजतलास र उद्धारका लागि सक्रिय भएको छ । प्रहरी निरीक्षक गोविन्द साहले अनुसन्धान र खोजतलास सुरु गरिएको बताए ।
हराइरहेका बालक जनता माध्यमिक विद्यालय बलहीमा ७ कक्षामा पढ्दापढ्दै पढाइ छाडेको र आफ्नै स्वामित्वमा रहेको सिटी रिक्सा तथा ट्रयाक्टर चलाउने गरेको छिमेकीहरूले बताएका छन् ।
बालक अभिषेकको अपहरणको खबर गोलबजार नगरपालिकामा डढेलोझैं फैलिएको छ । गोलबजार चोकदेखि ६ किलोमिटर दक्षिणमा रहेको डंग्राहा गाउँमा अपहरणको खबरले त्रास फैलिएको छ । स्थानीयहरू असुरक्षित महसूस गर्दैछन् ।
समाचार संकलन गर्न गएका पत्रकारहरूलाई समाचार नलेखिदिन परिवारजनले आग्रह गरेका छन् । समाचार लेखेकै कारण बालक अभिषेकको ज्यान झन् खतरामा पर्ने भयले परिवारजनले नाम र घटनाको नालीबेली बताउन चाहँदैनन् ।




प्रतिक्रिया