अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाल जिम्मेवारीमुक्त

अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाल जिम्मेवारीमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् ।

सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा, अनावश्यक दु:ख हैरानी दिने लगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यालय प्रमुख मेकानिकल इन्जिनीयर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ ।

कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजस्व समेत हिनामिना भएको आशंका गरिएको छ । कार्यालयबाट २ वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारीसाधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारीसाधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षण लगायतका कार्य हुन्छन् ।

कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो । त्यसपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मबारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए ।

मन्त्री घिसिङले कार्यालयमा भइरहेको अनियमितता र त्यसमा संलग्न कार्यालय प्रमुख, लेखापाल एवं अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छन् ।

छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन/अनुसन्धान गर्ने, कारबाहीका लागि सिफारिस गर्ने लगायतका कार्यदेश दिइएको छ ।