राष्ट्रपति पौडेलको उपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ

राष्ट्रपति पौडेलको उपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा सोमबार अपराह्न ‘फूलपाती बढाइँ समारोह २०८२’ सम्पन्न गरिएको छ ।

समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

सो समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह २०८२’ व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण लगायत विशिष्ट व्यक्तित्व सहभागी रहेको थियो ।

फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दशैंघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।

बडादशैंको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहबीच फूलपाती बढाइँ गर्दै आएको छ ।