काठमाण्डु – बडादशैंको मुख्य दिन बिहीबार देशभरका अधिकांश स्थानको मौसम प्रतिकूल छ । कतिपय स्थानमा वर्षा भएकाले दशैं हिले बनेको छ ।
जल तथा मौसम बिज्ञान बिभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
विभागले विशेषगरी बागमती प्रदेशका काठमाण्डु उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतस् असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशस् सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट असोज २० गतेसम्म खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।
हालको विश्लेषणअनुसार देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ ।
यता, असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ ।
जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी र अतिभारी वर्षाको समयमा कृषि कर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ ।




प्रतिक्रिया