काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाएर नागरिकसँगको सम्बन्ध सुधार गर्न निर्देशन दिएका छन् ।
शुक्रबारदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अत्यधिक वर्षाको सम्भावना रहेको पूर्वानुमानबीच आयोजित भर्चुअल मनसुन सम्बन्धी विपद् संवादमा मन्त्री अर्यालले सुशासन र सेवा प्रवाहलाई कायम राख्दै सम्भावित विपद् व्यवस्थापन गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।
बैठकमा गृहसचिव रामेश्वर दंगाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारी, ४ वटै सुरक्षा निकायका प्रमुख, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका सदस्यहरूले भाग लिएका थिए ।
अर्यालले सबै सरोकारवाला निकायबीच समन्वय, सहकार्य र प्रभावकारी सञ्चारमार्फत जनधनको क्षति कम गर्नुपर्नेमा जोड दिए । गृह सचिव दंगालले पूर्वतयारी, खोज तथा उद्धार कार्यहरू एकद्वार नीति अन्तर्गत सञ्चालन गर्न र केन्द्र तथा जिल्लामा मनसुन प्रतिकार्य कमान्ड पोष्टहरू सक्रिय राख्न निर्देशन दिए ।
कार्यकारी प्रमुख दिनेश भट्टले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ अनुसार सबै जिम्मेवार निकायहरू क्रियाशील हुनुपर्ने बताए । जोखिमपूर्ण क्षेत्रमा सवारीसाधनको सञ्चालनमा रोक, अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई सचेत पार्न र आपतकालीन गोदामघर तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकमा गरिएको छ ।
बैठकले राष्ट्रिय र जिल्ला स्तरका आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा सक्रिय राख्ने व्यवस्था गर्न समेत निर्देशन दिएको छ । बैठकले मनसुन अवधिमा विपद् व्यवस्थापन प्रणालीको प्रभावकारिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।




प्रतिक्रिया