सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस महामन्त्री थापाको आग्रह

सतर्कता अपनाउन र उद्धार तथा राहतमा जुट्न कांग्रेस महामन्त्री थापाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेसका कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई जिम्मेवार भूमिकामा सक्रिय हुन आग्रह गरेका छन् ।

थापाले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनाहरूलाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन सबैलाई अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आम नेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू र स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिहरूलाई सरकारले जारी गरेका सूचनाहरू व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्दछु ।’

उनले पार्टीका सबै तहका कार्यकर्ताहरूलाई पनि पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात गर्दै आफ्ना ठाउँमा सक्रिय रहन आग्रह गरेका छन् ।

थापाले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै सबै निकाय र जनशक्तिलाई साझा जिम्मेवारीका साथ अग्रपंक्तिमा खटिनु समयको माग भएको बताए ।