नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्न सबै स्रोतसाधन परिचालित छन् : प्रधानमन्त्री कार्की

नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्न सबै स्रोतसाधन परिचालित छन् : प्रधानमन्त्री कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अविरल भारी वर्षाबीच प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्न राज्यका सबै स्रोतसाधन र निकाय परिचालन गरिएको बताएकी छन् ।

शनिबार साँझ देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गतेदेखि निरन्तर भइरहेको वर्षाले देशका धेरै भागलाई जोखिममा पारेकाले सबैले सावधानी अपनाउन र सरकारी निर्देशन पालना गर्न आग्रह गरिन् ।

प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उदृत गर्दै अझै २ दिनसम्म वर्षा जारी रहने सम्भावना रहेको बताइन् । उनले भनिन्, ‘हामी अहिले बाढी, पहिरो र कटानको उच्च जोखिममा छौं । धेरै स्थानमा पहिरो खस्ने सम्भावना रहेको छ । राज्यका सुरक्षाकर्मी र उद्धार टोली २४ घण्टै उच्च मनोबलका साथ जनताको सुरक्षामा खटिएका छन् ।’

उनले नागरिकलाई जहाँ छन्, त्यहीँ सुरक्षित बस्न, अनावश्यक यात्रा नगर्न, सवारीसाधन नचलाउन र जोखिमको पूर्वआकलन गरेर मात्रै निर्णय लिन आग्रह गरेकी छन् ।

उनले भनिन्, ‘जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुस्, अरुलाई पनि सचेत गराउनुस् ।’

प्रधानमन्त्रीले जोखिमपूर्ण अवस्थाका कारण आईतबार र सोमबार देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय पनि सार्वजनिक गरेकी छन् । उनले प्रहरी, सेना, सशस्त्र र स्थानीय प्रशासनले जारी गरेका निर्देशन तथा सूचनाअनुसार नै काम गर्न सबैलाई आग्रह गरिन् ।

राज्यका स्रोत र संयन्त्र परिचालन भइसकेकाले नागरिकले पनि जिम्मेवार व्यवहार अपनाउनुपर्ने उनको भनाइ छ ।