पूर्वजनमुक्ति सेनाका लडाकु : हिजो हातमा बन्दुक,आज कुटो-कोदालो

पूर्वजनमुक्ति सेनाका लडाकु : हिजो हातमा बन्दुक,आज कुटो-कोदालो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पहिला बन्दुक बोकेका उनका हातले अहिले गाईवस्तुको स्याहार गर्छन् । परिवर्तनका लागि भन्दै माओवादीको सशस्त्र द्वन्द्वमा सहभागी भएका र अरूलाई गोली हान्न पनि पछि नपरेका उनी अहिले गाईपालनलाई नियमित हतियार बनाएका छन् ।

बझाङको खप्तड छान्ना गाउँपालिका दारुगाउँमा जन्मिएका केशव खड्का काठमाण्डुको गोकर्णेश्वर–११ सुन्दरीजलमा २० लाख रुपैयाँ लगानी गरेर गाइपालन र तरकारी खेतीमा रमाइरहेका छन् । तर यो भूमिका र स्थानसम्म आइपुग्न उनले जीवनमा धेरै सङ्घर्ष र आफैँसँग अन्तर्सङ्घर्ष गर्नुपर्‍यो ।

१४ वर्षको उमेरमा ‘क्रान्ति’ र ‘जनमुक्ति’ का कुराले उनलाई लोभ्यायो । त्यतिखेर देशमा सशस्त्र द्वन्द्व चल्दै थियो र उनी माओवादीको लडाकु बने ।

उनी स्कुल पढ्दै गर्दा मुलुकमा जनयुद्ध चर्कंदै थियो । माओवादीहरू गाउँगाउँमा संगठन विस्तार गर्दै जनमानसमा ढाडस दिन शुरु गरिसकेका थिए ।

देशमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा दारुगाउँ–३ का खड्काले बन्दुक उठाए । बन्दुकको नालमा क्रान्तिको सपना देखे । जीउज्यान नभनी परिवर्तनका निम्ति लडे ।

तर, आज परिस्थिति ठीक उल्टो भइदिएको छ । एउटै कालखण्डमा दुई फरक–फरक जीवन बाँचेजस्तो । किनभने उनको हातमा अहिले बन्दुक होइन, गोबर र कुटो कोदालो छ । अहिले उनी कृषि क्रान्तिमा तनमनका साथ अग्रणी भूमिकामा लागिपरेका छन् ।

एसएलआर, एलएमजी, जीपीएमजी, एके ४७, एम १६ र ग्रिनेड खेलाउने उनका हात अहिले गाईपालन र तरकारी खेतीमा व्यस्त छन् ।अहिले खड्काको दिनचर्या गाईको हेरचाहा, दानापनी के कति खुवाउने, कसरी खुवाउने, गाई दुहुने र तरकारी खेती गर्ने बनेको छ ।

पूर्वमाओवादी लडाकु रहेका उनी बन्दुक बिसाएर केही वर्ष मलेसिया, यूएई, र मकाउ पनि गएका थिए । विदेशबाट नेपाल आएपछि उनी नेपालमै व्यवसायकि कृषि कर्ममा लागे ।

उनी स्कुल पढ्दै गर्दा मुलुकमा जनयुद्ध चर्कंदै थियो । माओवादीहरू गाउँगाउँमा संगठन विस्तार गर्दै जनमानसमा ढाडस दिन शुरु गरिसकेका थिए ।

यता, सामन्तहरूको बिगबिगी । अर्काेतिर त्यही उत्पीडनले जन्माएको माओवादीको नयाँ जनवादी क्रान्ति । उनको बालमस्तिष्कमा क्रान्तिको गहिरो प्रभाव पर्‍यो । देश बद्ल्नुुपर्छ भन्ने विद्रोह भाव भयो । ‘त्यो परिवेश त्यस्तै थियो,’ उनी सम्झिन्छन्, ‘उत्पीडन र असमानताले धेरै मानिस जनयुद्धमा सरिक भइसकेका थिए ।’

त्यसमाथि प्रहरी र सेनाको ज्यादती उस्तै थियो । घरघरबाट प्रहरी र सेनाले अनेक दुःख दिन्थे । गाउँबाट मानिसहरू छोप्दै लिएर जान थालेका थिए । द्वन्द्व चर्कंदैै जाँदा गाउँका अनाहक सर्वसाधारणलाई घरबाटै समातेर मार्ने क्रम बढ्यो । त्यसपछि उनी भूमिगत भए ।

उनीभित्र एक किसिमको विद्रोहको भाव थियो । क्रान्तिबाट मुलुक बदल्ने सपना देख्थे । राज्यको नजरमा उनी विद्रोही थिए । विचार र भावना दुवै क्रान्तिकारी ।

उनी २०५९ सालमा माओवादीको जिल्ला संगठन हुँदै जनमुक्ति सेनामा प्रत्यक्ष युद्धको भूमिकामा आए । पहिलो पटक बन्दुक समाउँदा उनको उमेर १४ वर्ष थियो । तर युद्धको उन्माद अर्कै हुने । बन्दुक समाउन पाए संसार जित्ने आँट आउँथ्यो उनलाई ।
किशोरावस्था छँदा बन्दुक समाएका उनी त्यसपछिका थुप्रै प्रत्यक्ष युद्धमा ज्यानको बाजी थापेर लडे । उनलाई लाग्थ्यो–बन्दुकको नालबाट मात्र क्रान्ति सम्भव छ ।

हिजोका दिनमा बन्दुक समाउँदा उनीभित्र एक किसिमको विद्रोहको भाव थियो । क्रान्तिबाट मुलुक बदल्ने सपना देख्थे । राज्यको नजरमा उनी विद्रोही थिए । विचार र भावना दुवै क्रान्तिकारी । उनी एकताका पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा समेत खटिएका थिए ।

तर अहिले उनको स्वभाव फरक छ । कृषि कर्ममा लागेयता उनी शालिन छन् । हिजोजस्तो मस्तिष्कमा विद्रोहको भाव छैन । बोलीमा क्रान्तिकारी भाषा होइन, विनम्रता झल्कन्छ । कृषि क्रान्तिले उनलाई यही कुरा सिकाएको छ ।

क्रान्ति नगरी मुलुकमा परिवर्तन हुँदैन भन्ने कुरा अहिले पनि उनलाई लाग्छ । तर अब बन्दुकबाट गरिने रक्तपात क्रान्ति भने होइन । उनी कृषि क्रान्तिको कुरा गर्दैछन् ।

‘परिस्थितिबस हिजो बन्दुक उठाउनुपर्‍यो,’ उनी भन्छन्, ‘तर अब त्यो क्रान्तिले हुँदैन । जनताको जीवन बदल्ने क्रान्ति जरुरी छ, जुन कृषिबाट सम्भव छ ।’

विगतमा आफूले बन्दुक उठाउँदा देखेको परिवर्तनको सपना उनी अहिले व्यवसायिक गाईपालन र होटेल व्यवसाय, तरकारी खेतीमा देखिरहेका छन् ।

यता नेताहरू भने आज पनि समाजवाद र साम्यवादका सपना देखाइरहेका छन् । तर यी सबै कुरा उनलाई फगत लाग्छ ।
कुनै बेला चौथो डिभिजन नवलपरासीमा कार्यरत पूर्वजनमुक्ति सेना खड्काले तरकारी खेती गाईपालनका लागि जमिन भाडामा लिएर खेती गरेका छन् । खड्काकोे संघर्ष र सोच एउटै छ–स्वरोजगार बन्नुपर्छ ।

आफ्नो काम र त्यसबाट प्राप्त प्रतिफलप्रति सन्तुष्ट छन् उनी । ‘एकदम सन्तुष्ट छु । सानै उमेर देखिको मेहनत र अहिले आफैंं व्यवसाय थाल्दा महिनाको १ लाखसम्म आम्दानी गरेको छु, र त्यसको आम्दानीबाट अत्यधिक सन्तुष्ट छु,’ उनी भन्छन् ।

नेपालमा कृषि क्षेत्रलाई उद्योग र पर्यटनसँग जोड्न ठूला कृषि फर्महरू सञ्चालन गर्नुपर्ने खड्काको सुझाव छ ।

खड्का भन्छन्, ‘राजनीतिमार्फत समाज सेवा गर्ने मेरो उद्देश्य हो ।’ तर राजनीति शुद्ध हुनुपर्छ भन्ने मान्यता उनको छ । ‘बदमासी गर्न सकिनँ । नेतालाई रोजगारीका लागि गुहार्न पनि मन मानेन । अनि तरकारी खेती र गाईपालन सुरु गरेको हुँ । बझाङको दारुगाउँमा पनि मेरो होमस्टे छ । कमाइबाट पूर्ण सन्तुष्ट छु’ आफ्नो अनुभव सुनाउँदै उनले भने ।

नेपालमा कृषि क्षेत्रलाई उद्योग र पर्यटनसँग जोड्न ठूला कृषि फर्महरू सञ्चालन गर्नुपर्ने खड्काको सुझाव छ । उनी भन्छन, ‘कृषि आफैंमा उद्योगसँग जोडिएकाले बाँझो जमिनमा नयाँ–नयाँ खेती गर्नसके उत्पादकत्व बढ्ने मात्र नभएर पर्यटकीय गन्तव्यको पनि विकास हुनेछ ।’

कृषकलाई हेपाहा तरिकाले नहेर्न पनि उनको आग्रह छ । धितो राख्ने जमिन नहुँदा ऋण नपाएको बताउँने खड्का नेपालमा खेती एवं कृषिकर्म गर्ने किसानलाई सरकारले बिनाधितो सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने माग गरे ।

कलिलो उमेरमै राजनीति नै सबैचिज हो भनेर माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका उनी अहिले आयआर्जन महत्वपूर्ण हो भन्ने निष्कर्षमा पुगेका छन् । ‘उतिबेला बन्दुक बोकेर परिवर्तनका लागि हिँडियो,’ उनी भन्छन्, ‘अब कुटो–कोदालो बोकेर आर्थिक क्रान्तिमा जुटेको छु ।’