सुर्खेत – भदौ २३ र २४ गते देशैभर चर्केको जेनजी आन्दोलनका कारण कर्णाली प्रदेश सरकार अन्योलमा परेको छ ।
जेनजी आन्दोलनको बलबाट तत्कालीन सरकार विघटन भई नयाँ अन्तरिम सरकार बनेपछि संघीय सरकार र प्रदेश सरकारबीच समन्वयको पनि अभाव देखिएको छ ।
आन्दोलनपछि आवश्यक निर्देशन र निर्णय अभावमा सरकारी कामकाजहरू लयमा फर्किन सकिरहेका छैनन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले आन्दोलनका क्रममा आगजनी भएका भौतिक संरचना र कार्यालयको अनुगमन गरे पनि अन्य कुनै निर्णय लिन सकिरहेको छैन ।
जेनजी आन्दोलन भएको १ महिना बितिसक्दा पनि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन । आन्दोलनमा प्रदेश सभामा आगजनी गरिएपछि प्रदेश सभा भवन ध्वस्त भएको छ । बजेट अधिवेशन सकिएको प्रदेश सभाको बैठक सम्बन्धी छलफल नै अगाडि बढ्न सकेको छैन ।
दशैंमा घर गएका प्रदेशसभा सदस्यहरू पनि फर्किएका छैनन् । कतिपय मन्त्रीहरू पनि सुर्खेत बाहिर रहेको अवस्थामा प्रदेश सरकार मातहतका कार्यालयका प्रमुख र कर्मचारी पनि उपस्थित नहुँदा विकासका कामहरू प्रभावित भइरहेका छन् । कतिपय कार्यालयहरू मर्मत गरेर सेवा सञ्चालन गरिए पनि आवश्यक सेवा प्रवाह हुन सकिरहेको छैन ।
आन्दोलन भएको केही दिनपछि मुख्यमन्त्री यामलाल कँडेलले क्षतिग्रस्त संरचनाको अनुभव गर्दै क्षति भएका संरचनाको पुनर्निर्माणका लागि छुट्टै योजना अगाडि बढाइने बताएको १ महिना बितिसक्दा पनि मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन ।
सरकारका मन्त्रीहरूले भने सरकारले गर्नुपर्ने काम गरिरहेको बताएका छन् । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सरकारले आफ्नो लयमा आवश्यक कामकाज गरिरहेको बताए ।
‘औपचारिक रूपमा मन्त्रिपरिषद् बैठक नबसे पनि सरकार आफ्नो लयमा काम गरिरहेको छ,’ उनले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरू, मन्त्रीहरू र सचिवहरूबीच बजेट तथा योजना कार्यान्वयनका लागि सरकार कसरी अगाडि बढ्ने भन्ने बिषयमा निरन्तर छलफल हुने गरेको छ ।’
भदौ ४ गतेयता कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेको छैन । आन्दोलनमा भएको क्षतिको विवरण संकलन भइसकेपछि अब त्यसको पुनर्निर्माण र सरकारको योजना कार्यान्वयनका लागि कसरी अगाडि भन्ने विषयमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी भइरहेको सरकारका प्रवक्ता समेत रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले बताए ।
शनिबार कर्णाली सरकारका मुख्यमन्त्री कँडेलले प्रमुख सचिवसहित मन्त्रालयका सचिवहरूसँग बैठक गरी आगामी दिनमा जेनजीको भावनाको सम्मान गर्दै अगाडि बढ्न सचिवहरूलाई निर्देशन दिएका छन् ।




प्रतिक्रिया