माओवादीसँग एकता प्रक्रिया छिट्टै निष्कर्षमा पुर्‍याउने एकीकृत समाजवादीको निर्णय

माओवादीसँग एकता प्रक्रिया छिट्टै निष्कर्षमा पुर्‍याउने एकीकृत समाजवादीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया छिट्टै टुंग्याउने तयारी अघि बढाएको छ ।

सोमबार सम्पन्न केन्द्रीय सचिवालय बैठकले वाम, कम्युनिस्ट र समाजवादी शक्तिहरूबीच चलिरहेको एकता वार्तालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन दशौं बैठकले गठन गरेको वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिँदै भने, ‘एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्‍याउने जिम्मेवारी समितिलाई दिइएको छ । यसले वाम एकता र स्थिर राजनीतिक दिशातर्फ योगदान पुर्‍याउनेछ ।’

बैठकले प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्ने निर्णय पनि गरेको छ । समाजवादीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले आवश्यक पहल गर्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आयोगले कात्तिक मसान्तसम्म नयाँ मतदाता नामावली दर्ता प्रक्रिया सञ्चालन गरिरहेका कारण सबै नागरिकलाई नाम दर्तामा सहभागी हुन अपिल गरिएको छ । पार्टीका सबै संगठन र जनवर्गीय निकायहरूलाई अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिइएको छ ।

बैठकले गणतन्त्र र संविधानको रक्षा, वर्तमान राजनीतिक संकटको समाधान र स्थायित्वका लागि लोकतान्त्रिक तथा गणतन्त्र पक्षधर दलहरूसँग संवाद र सहकार्य अघि बढाउने निर्णय पनि गरेको छ ।

समाजवादीले असोज २९ गते भर्चुअल माध्यमबाट केन्द्रीय समितिको बैठक बोलाउने र आगामी राजनीतिक रणनीति तथा संगठनात्मक तयारीबारे निर्णय गर्ने जनाएको छ ।