काठमाण्डु – इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ देखि जारी द्वन्द्व अन्त्यका लागि प्रस्तावित मिडल इस्ट पिस प्लानअन्तर्गत पहिलो चरणको बन्दी आदानप्रदान कार्य सुरु हुँदा नेपाली विपिन जोशी परेनन् ।
बन्दी आदानप्रदान प्रक्रियामा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान इजरायली स्थानीय समय अनुसार ७:३० बजे इजरायली सेना (आईडीएफ) ले इजरायलका लागि नेपाली राजदूत, विपिन जोशीका दाजु, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरू सहभागी भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरूको सूचीमा विपिन जोशीको नाम नरहेको र उनको अवस्था अज्ञात रहेको जानकारी दिएको छ ।’
‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी भएर इजरायल पुगेका जोशीलाई हमासले २०२३ अक्टोबर ७ का दिन बन्दी बनाएको थियो । त्यसयता उनको अवस्थाबारे ठोस जानकारी प्राप्त हुन सकेको छैन ।
मन्त्रालयका अनुसार जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विगत २ वर्षदेखि विभिन्न तह र माध्यममार्फत सबै सम्भावित प्रयास जारी राखेको छ । मन्त्रालयले भनेको छ, ‘हमासको कब्जामा रहेका सबै जीवित बन्दीहरूको रिहाइ र मृत बन्दीहरूको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म नेपाल सरकारले यस विषयमा निरन्तर जानकारी अद्यावधिक गर्दै जानेछ ।’
नेपाल सरकारले घटनाप्रति निरन्तर चासो राख्दै इजरायली सरकार, अन्तर्राष्ट्रिय संस्थाहरू र सम्बन्धित निकायहरूसँग समन्वय जारी राखेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया