काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरे पनि वातावरण बन्न नसकेको बताएका छन् ।
मंगलबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले देशमा शान्ति सुरक्षा संकटमा परेको उल्लेख गरे ।
उनले देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा नेपाली कांग्रेसको एकता नै आजको आवश्यकता रहेको भन्दै निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बन्न नसकेको बताए । ‘नेपाली कांग्रेसको एकता आजको आवश्यकता हो । देशमा संकट उत्पन्न भएको वर्तमान अवस्थामा सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ । स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन । निर्वाचनका सुरक्षा निकाय शान्ति सुरक्षाको घेराबन्दीमा छैन, सुरक्षा निकाय मौन र निरीह भएका छन्,’ उनले भने ।
उनले निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था बढाइ दलहरूमा हौसला सिर्जना गर्नतर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले भने, ‘निर्वाचनका लागि शान्ति सुरक्षाको व्यवस्था बढाउन शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुन्छ भनी सबैले स्व:स्फूर्त निर्वाचनका भाग लिन हौसला सिर्जना हुन्छ भन्ने कुरामा यसतर्फ सरकारको ध्यान जाओस् ।’
सरकारले निर्वाचनको लागि वातावरण बनाउन सकेमा देशले ठूलो संवैधानिक फड्को मार्ने उनले बताए । देउवा ३४ दिनपछि केन्द्रीय कार्यालय सानेपामा पहिलोपटक देखिएका हुन् । सम्बोधनका क्रममा पार्टीको विशेष वा नियमित महाधिवेशनको प्रसंग भने उठाएनन् । सो क्रममा पार्टीको विधानको व्यवस्था र आफ्नो इच्छाअनुसार नेतृत्व हस्तान्तरण गर्ने देउवाले बताए ।
पार्टीभित्र नेतृत्व परिवर्तनका लागि व्यापक बहस चलिरहेका बेला देउवा पक्ष नियमित महाधिवेशनको पक्षमा छ ।




प्रतिक्रिया