सर्लाही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान सिरहाका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कार्यालयका तत्कालीन डिभिजनल इन्जिनीयर तथा प्रमुख रविन्द्रलाल दास, इन्जिनीयर शैलेन्द्र कुमार चौधरी, सबइन्जिनीयर चन्द्रकान्त चौधरी र जय धनन्जय रब्बानी जेभीका तर्फबाट रब्बानी कन्सट्रक्सनका सञ्चालक जफिर कवारीलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
उनीहरूलाई सिरहाको कल्याणपुर नगरपालिका–५ स्थित चिकनास्थानमा प्रदेश सरकारको योजनाअन्तर्गत सडक ढलान निर्माण कार्यमा अनियमितता र भ्रष्टाचार गरेको आरोप छ ।
अख्तियारले उनीहरूबाट करीब २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ २२ पैसा बराबरको भ्रष्टाचार भएको दाबी गर्दै उक्त रकम बिगोको रूपमा असुल गर्न मागसहित मुद्दा दायर गरेको छ ।
विशेष अदालतमा दर्ता गरिएको मुद्दा सम्बन्धमा सर्वोच्च अदालतका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिँदै पूर्व डिभिजनल इन्जिनीयर दास हालै रेल विभागका महानिर्देशकको पदबाट अवकाश प्राप्त गरेको समेत बताएका छन् ।




प्रतिक्रिया