फागुन २१ गतेका लागि निर्वाचन आयोगको तयारी तीव्र, तोकिएको मितिमै चुनाव हुने विश्वास

फागुन २१ गतेका लागि निर्वाचन आयोगको तयारी तीव्र, तोकिएको मितिमै चुनाव हुने विश्वास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका तयारीका विषयमा निर्वाचन आयोगले बिहीबार संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ वटा राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

आयोगमा भएको छलफलमा राजनीतिक दलहरूले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारलाई आग्रह गरेका छन् ।

दलहरूले शान्ति सुरक्षाको पर्याप्त व्यवस्था, आचारसंहिताको पूर्ण पालना, निर्वाचनलाई कम खर्चिलो बनाउने उपाय र हालको विषम राजनीतिक परिस्थितिका कारण निरन्तर संवाद र सहकार्य आवश्यक रहेको सुझाव दिएका छन् ।

आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको मितिमै निर्वाचन हुने विश्वास दिलाउँदै सबै राजनीतिक दलहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरे । उनले आयोगले स्रोतसाधन र शान्ति सुरक्षाका विषयमा सरकारसँग पटक–पटक छलफल गरेको र सरकारको तर्फबाट पूर्ण प्रतिबद्धता प्राप्त भइसकेको जानकारी दिए ।

उनले भने, ‘निर्वाचनमय वातावरण बनाउन आयोग निरन्तर प्रयत्नशील छ । कसैले कसैलाई निर्वाचनमा भाग लिन रोक्ने वा निषेध गर्ने राजनीति हुन नदिने आयोगको स्पष्ट नीति हो ।’

छलफलमा निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर जबरा र आयोगका सचिव महादेव पन्थ उपस्थित थिए ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले आयोगले तोकिएको मितिमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्ने तयारीलाई तीव्रता दिएको जानकारी दिए ।