काठमाण्डु – नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
आईतबार पत्रकार सम्मेलन गर्दै उनले लोकतन्त्रमा फरक मत अपरिहार्य रहेको भन्दै जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन् ।
उनले प्रेस विज्ञप्तिमार्फत भने, ‘लोकतन्त्रमा फरक मत अपरिहार्य हो । त्यसलाई स्वीकार गर्ने साहस हामीले देखाउनुपर्छ । जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ । त्यसैगरी परम्परागत राजनीतिक शक्तिहरूलाई समेत हामीले आत्मसात गर्नुपर्दछ ।’
जेनजी आन्दोलनको स्वरूपमा घुसपैठ हुँदा हिंसात्मक भई मानवीय र भौतिक संरचनामा क्षति पुगेको उनले बताए । उनले पुराना राजनीतिक दलहरूको अस्तित्व नै संकटमा पार्ने संकेतहरू देखापरेका समेत बताए ।
‘जेनजी आन्दोलनको स्वरूपमा विभिन्न स्वार्थ समूहहरूको घुसपैठले आन्दोलनलाई हिंसात्मक बनाएको छ, मानवीय र भौतिक संरचनामा क्षति पुगेको छ । परिस्थिति असामान्य छ । हाम्रो अस्तित्व नै संकटमा पार्ने संकेतहरू देखापरेका छन्,’ उनको प्रेस विज्ञप्तिमा भनिएको छ ।
उनले राजनीतिक संकट नेतृत्वको परीक्षण भएकाले नेपाली कांग्रेस कसरी चुनौतीहरू आत्मसात गर्छ भन्ने परीक्षणको समय रहेको पनि बताए ।
‘राजनीतिक संकट नेतृत्वको परीक्षण हो र नयाँ नेतृत्व जन्माउने अवसर पनि हो । आज नेपाली कांग्रेस कसरी चुनौतीहरू आत्मसात गर्छ भन्ने परिक्षणको समय हो,’ उनले भने, ‘हामीले विगतका कमजोरीहरूबाट सिक्नुपर्छ, १२ बुँदे सम्झौताको परिवेश फरक थियो । त्यसबेला दलहरूबीचको एकताले लोकतन्त्र पुन:स्थापित भयो ।’
उनले अहिलेको समस्याको समाधान संवाद, सहकार्य र सहअस्तित्वपूर्ण राजनीतिबाट खोजिनुपर्ने समेत बताए ।




प्रतिक्रिया