काठमाण्डु – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा सरकार र राजनीतिक दलबीच सुरु भएको छलफलमा सरकारका तर्फबाट ४ मन्त्री र १ सल्लाहकार सहभागी भएका छन् ।
प्रधानमन्त्री कार्कीसँगै छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री मदन परियार सहभागी छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल पनि छलफलमा उपस्थित छन् ।
छलफलमा निर्वाचनको मिति नजिकिँदै जाँदा आवश्यक तयारी, शान्ति–सुरक्षा र आचारसंहिताको कार्यान्वयनबारे कुराकानी हुँदैछ ।
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दलहरूको साझा प्रतिबद्धता सुनिश्चित गर्ने उद्देश्यले संवाद थालेकी हुन् । छलफलमा नेपाली कांग्रेसका गगनकुमार थापा र प्रकाशशरण महत, नेकपा एमालेका शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, नेकपा माओवादी केन्द्रका वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले र सोविता गौतम, नेकपा एकीकृत समाजवादीका राजेन्द्र गुरुङ, राप्रपाबाट मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र आमजनता पार्टीका चन्दन सिंह छन् ।
छलफलमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रूपमा सहभागी छन् ।




प्रतिक्रिया