‘देश शोकमा डुबेको छ, भाइटीकामा एक भएर खबरदारी गरौं’

‘देश शोकमा डुबेको छ, भाइटीकामा एक भएर खबरदारी गरौं’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजीको बलिदानबाट बनेको सरकार शहीद र घाइतेप्रति जिम्मेवार नभएको भन्दै ‘जेन–जी युनाइटेड परिवर्तन’ले एकजुट भएर संघर्षमा उत्रिन आह्वान गरेको छ ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गरी शहीदहरूको सम्झनामा माइतीघर मण्डलामा भाइटीकाको दिन सामूहिक रूपमा सरकारलाई खबरदारी गर्ने जानकारी गरेको छ ।

शहीद परिवार कमल सुवेदीले नेपालीहरूका महान् चाड दशैंतिहारका पूर्वसन्ध्यामा देश शोकमा डुबेकाले पर्वलाई शक्तिमा रूपान्तरण गर्न शहीदहरूको सम्झनामा श्रद्धासुमनसहित भाइटीकाका दिन संघर्षको उद्घोष गर्ने बताए ।

जेन्जी सदीक्षा राईले अबको समय भनेको जेनजीहरूको भएको र सबै युवायुवतीहरू विभाजितभन्दा एक भएर देश बनाउन जुट्नुपर्नेमा जोड दिइन् ।

जेनजी अञ्जु राईले भाइटीकालाई परम्परागतभन्दा पनि सम्पूर्ण जेनजीहरू एक भएर एकताको सन्देश दिएर देशलाई नयाँ दिशामा लग्नुपर्ने धारणा राखिन् ।

घाइते भूपेन्द्र खड्काले आफू जेनजी आन्दोलनका क्रममा दमक नगरपालिका अगाडि २७ वटा छर्रा लागेको र सो छर्राहरू बोकेर सरकारलाई खबरदारी गर्न काठमाण्डु आएको बताए ।

अर्की जेन्जी दिया बोहोराले अन्तरिम सरकारले सुशासन र भ्रष्टाचारमुक्त देश बनाउने मुख्य उद्देश्यसहित संघर्ष गरेकाहरूलाई वेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरिन् । बोहोराले परिवर्तनका लागि लडेका सम्पूर्ण जेनजीहरू एक नभए देश पछाडि फर्किने निश्चित भएकाले त्यसतर्फ सतर्क बन्न आग्रह गरेकी छन् ।

शहीद परिवार कमल सुवेदीले विभिन्न वार्ता तथा छलफलहरू भइरहे पनि त्यहाँ घाइते र शहीद परिवारको सदस्यहरुको अनुहार नदेखिनु दुर्भाग्य भएको बताए ।

‘वास्तविक जेनजी र प्रभावित व्यक्तिहरूलाई किनारा लगाइएको छ, हामीहरू प्रधानमन्त्री तथा सरकारी प्रतिनिधिहरूलाई भेट्न त परै जाओस्, सिंहदरबारभित्र पनि प्रवेश गर्न पाइरहेका छैनौं,’ सुवेदीले भने ।

जेनजी प्रकृति श्रेष्ठले ८२ साल भोलिको भाइटीकाको दिन सम्पूर्ण शहीदहरूको श्रद्धासुमन कार्यक्रम राखिएको र माइतीघरको शोकसभामा सबै उपस्थित भएर सरकारलाई खबरदारी गर्न अनुरोध गरिन् ।

जेनजी प्रतिनिधि बरुण यादवले जेनजी युनाइटेड परिवर्तनले शहीदहरूको सम्झनामा श्रद्धासुमनसहित भाइटीकाले सम्पूर्ण जेनजीहरूलाई एक हुन सन्देश दिने विश्वास राखे । जेनजी प्रदिप भट्टराईले सम्पूर्ण जेनजीहरू एक ढिक्का भएर देश विकासमा लाग्नुपर्ने धारणा राखेका छन् ।