छठलगत्तै दुर्गा प्रसाईंलाई वार्तामा बोलाउने सरकारको तयारी, राजसंस्थाबारे छलफल होला ?

छठलगत्तै दुर्गा प्रसाईंलाई वार्तामा बोलाउने सरकारको तयारी, राजसंस्थाबारे छलफल होला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा वकालत गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वार्तामा बोलाउन सरकारले तयारी थालेको छ ।

दशैंतिहार सकिएर छठ पर्वको पूर्वसन्ध्यामा प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको मन्त्रीहरू र सुरक्षा प्रमुखहरूको बैठकमा दुर्गा प्रसाईंलाई वार्तामा बोलाउने निष्कर्ष निकालिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा प्रसाईंले तीनकुनेमा आन्दोलन गरिसकेको र फेरि पनि आन्दोलन गर्नसक्ने जोखिम रहेकाले सरकारले उनलाई वार्तामा बोलाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्याललाई वार्तामा बोलाउने र छलफल चलाउने जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री अर्यालले विभिन्न माग राख्दै सडकमा आन्दोलनरत समूहलाई वार्तामा आउन आग्रह गरेका छन् । उनले सरकार सबै विषय संवादको माध्यमबाट समाधान गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

गृहमन्त्री अर्यालले भने, ‘राजनीतिक मागहरू सरकारले वार्तामार्फत सम्बोधन गर्न सक्छ । त्यसका लागि आन्दोलनकारीहरूले पनि सडकको बाटो होइन, संवादको बाटो रोज्नुपर्छ । सरकार संवादका लागि पूर्ण रूपमा तयार छ ।’

प्रदर्शनका क्रममा सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी वा अन्य हिंसात्मक गतिविधि नगर्न चेतावनी दिँदै उनले लोकतान्त्रिक अधिकारको प्रयोग अरूको अधिकार हनन् नहुने गरी गर्न आग्रह गरे । ‘लोकतान्त्रिक अधिकार सबैको हो तर त्यसको प्रयोगले अरूको हकमा असर पर्नु हुँदैन,’ उनले भने ।

बालुवाटारमा बसेको सुरक्षा बैठकमा देशको पछिल्लो अवस्थाको सूक्ष्म मूल्यांकन गरिएको जानकारी दिँदै उनले सरकार मुलुकलाई सामान्य अवस्थामा फर्काउने र आगामी निर्वाचनका लागि शान्त र भयरहित वातावरण सुनिश्चित गर्न केन्द्रित रहेको बताए ।

गृहमन्त्री अर्यालले सबै पक्षले संयमित रहँदै राष्ट्रिय हित र स्थायित्वलाई प्राथमिकता दिनुपर्ने बेला आएको बताए । ‘सरकारको प्राथमिकता स्थायित्व, शान्ति र सहमतिको वातावरण सिर्जना गर्नु हो,’ उनले भने ।

अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले छठलगत्तै देशमा विभिन्न खालका आन्दोलन हुनसक्ने आकलन गर्दै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन् । माइतीघर मण्डला लगायत काठमाण्डुका विभिन्न स्थानमा आन्दोलनका गतिविधि सुरु भइसकेका छन् ।