काठमाण्डु – जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीमाथि गृहमन्त्री ओमप्रकाश अर्याललाई बर्खास्त गर्न दबाब बढेको छ ।
काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले गृहमन्त्री अर्याललाई बर्खास्त गर्न प्रधानमन्त्री कार्कीमाथि निरन्तर दबाब दिइरहेका छन् ।
मेयर बालेनकै पूर्व कानूनी सल्लाहकार अर्यालले जेनजीको भावनाअनुसार काम गर्न नसकेको आरोप छ । मेयर बालेनको सचिवालय स्रोतका अनुसार अर्याललाई बर्खास्त गर्न आग्रह गरिएको छ । ‘प्रधानमन्त्रीज्यूलाई भेटेरै भनिसक्नुभएको छ,’ स्रोतले भन्यो, ‘गृहमन्त्री अर्यालले जेनजीको भावनाअनुसार काम गर्न सक्ने नदेखिएपछि पदमा बसिराख्नुको अर्थ छैन ।’
जेनजी आन्दोलनमाथि दमन गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर कारवाही हुनुपर्ने, भ्रष्टाचारीमाथि छानबिन हुनुपर्ने, शान्ति सुुव्यवस्था कायम हुनुपर्ने लगायत विषय गृहमन्त्रीसँग जोडिने भए पनि देखिने गरी काम गर्न नसकेको आरोप छ ।
गृहमन्त्री अर्यालले पदभार ग्रहण गरेपछि सचिवालय निर्माणदेखि सरुवा, बढुवा, नियुक्तिमा जेनजीको भावना सम्बोधन गर्न नसकेको आरोप समेत बालेन पक्षधरको छ ।
बालेनको दबाबका बिच पनि सन्देश राम्रो नजाने भन्दै प्रधानमन्त्री कार्कीले तत्कालै गृहमन्त्री अर्याललाई बर्खास्त गर्न सकेकी छैनन् ।




प्रतिक्रिया