काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार गठन भएको ४४ दिनभित्र १० सदस्यीय बनेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आईतबार प्रधानमन्त्री कार्कीको सिफारिसमा नयाँ मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्दै मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलको उपस्थितिमा नवनियुक्त मन्त्रीहरूले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।
मन्त्रिपरिषदमा अर्थ, गृह, ऊर्जा, शिक्षा, कृषि, स्वास्थ्य, उद्योग, सञ्चार, युवा र पर्यटन लगायत १० मन्त्रालय समेटिएका छन् ।
प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा, खानेपानी, महिला–बालबालिका तथा ज्येष्ठ नागरिक, वन–पर्यावरण, संस्कृति–पर्यटन–नागरिक उड्डयन, र श्रम–रोजगार–सामाजिक सुरक्षा मन्त्रालय आफैंले सम्हाल्नेछिन् ।
अर्थ तथा संघीय मामिला मन्त्रालय रामेश्वर प्रसाद खनाललाई दिइएको छ भने ऊर्जासँगै भौतिक पूर्वाधार र शहरी विकासको जिम्मेवारी कुलमान घिसिङलाई दिइएको छ ।
गृह मन्त्रालय ओमप्रकाश अर्यालले सम्हाल्दैछन् । उद्योग, वाणिज्य तथा आपूर्ति, कानून–न्याय र भूमि व्यवस्थापन मन्त्रालय अनिलकुमार सिन्हालाई दिइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिको नेतृत्व महावीर पुनले गर्नेछन् भने कृषि मन्त्रालय मदनप्रसाद परियारलाई दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जगदीश खरेल छन् ।
आईतबार नियुक्त मन्त्रीहरूमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुधा गौतम र युवा तथा खेलकुद मन्त्रालय बब्लु गुप्ताले सम्हाल्ने भएका छन् ।
भदौ २७ गते गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन । आईतबार अन्य २ जना पनि मन्त्री नियुक्त हुने चर्चा भए पनि अन्तिम समयमा २ जनाको नाम काटेर २ जनालाई मात्रै मन्त्री नियुक्त गरिएको छ ।





प्रतिक्रिया