रौतहट – रौतहटसहित तराई–मधेशमा अझै पनि जातीय छुवाछुत कायम नै छ तर छठ पर्वले जातीय भेदभाव धनी र गरीब बिचको असमानता भावनाको पनि अन्त्य गरेको देखिन्छ ।
यस पर्वमा समाजमा उपेक्षित मानिने डुम समुदायले बनाएको बासको चोयाको सुपली, नाङ्गलो र डालाको प्रयोग गरिन्छ । यसमा नै छठको प्रसाद ठेकुवा, भुसुवा र खाजाजस्तो परिकार चढाइन्छ । छठ पूजाका लागि अतिआवश्यक सामग्री मानिन्छ ।
यस पर्वले छुवाछुतको भाव नराख्ने र सबै मानिसको अस्तित्वलाई स्वीकार गरेको इशनाथ नगरपालिका औरैयाका अगुवा किशोरी यादवले बताए । आफूहरूले पनि नदी तथा पोखरी किनारमा सामूहिक रूपमा छठ मनाउने व्यवस्था गरेको बताए ।
यतिबेला छठ पर्वले गर्दा रौतहटका प्रमुख बजारहरू चन्द्रनिगाहपुर, गरुडा र सदरमुकाम गौरमा व्रतालुहरूको चहलपहल निकै बढेको छ । छठ पर्वका लागि आवश्यक पूजाका सामग्री किनमेल तथा परिवारिक जमघटले बजारहरूमा चहलपहल र भीडभाड बढेको देखिन्छ । लुगाकपडा, मिठाइ, फलफूल पसलहरूमा भीड छ भने पर्वले गर्दा पूजा सहितका आवश्यक सामग्रीहरूको पनि मूल्य बढेको पाइन्छ ।
सूर्य उपासनाको महापर्व छठ पूजाको दोस्रो दिन व्रतालुहरूले खरना मनाउने गर्छन् । जसमा व्रतालुहरू निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवानलाई चढाएर त्यही प्रसाद खाने गर्दछन् । त्यसपछि ३६ घण्टा लामो निर्जल र निराहार भई व्रत सुरु हुन्छ ।
भोलि सोमबार साँझ अस्ताउँदो र पर्सि मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ४ दिनको पर्व सकिन्छ । यस पर्वका लागि यहाँका छठघाट सजावटको काम अन्तिम चरणमा पुगेको छ ।
अहिले छठ पूजा हुने पोखरी, तलाउ तथा नदी किनारहरू दुलहीझै शृगारिँदैछन् भने भजनकीर्तनका गीतहरूले यहाँको वातावरण नै भक्तिमय बन्न थालेको छ ।




प्रतिक्रिया