काठमाण्डु – जेनजी आन्दोलनको जगमा बनेको सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पछिल्लो मन्त्रिपरिषद् विस्तारमा विवादित व्यक्तिहरूलाई रोजेको खुलासा भएको छ ।
मन्त्री कुलमानले पछिल्लोपटक मन्त्रीका लागि बब्लु गुप्ता र खगेन्द्र सुनारलाई रोजेका थिए । तर खगेन्द्रलाई मन्त्री नियुक्त गर्नुअघि नै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विवाद चर्किएपछि उनको नियुक्ति रोकियो । गुप्ता मन्त्री नियुक्त भएपछि उनको पृष्ठभूमिबारे थुप्रै विवाद सतहमा आइरहेका छन् ।
नेकपा एमालेका नेता महेश बस्नेतसँग मिलेर गुप्ता आफूविरुद्ध प्रयोग भएको आरोप शोभा पाठकले लगाएकी छन् । यसअघि शोभाले महेश बस्नेतलाई विभिन्न आरोप लगाउँदै आएकी थिइन् । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेथितिविरुद्ध कानून व्यवसायीको आन्दोलन हुँदा चोलेन्द्रको पक्षमा आन्दोलन गर्न यिनै गुप्ता प्रयोग भएको चर्चा पनि छ ।
ऊर्जामन्त्री कुलमानसँग २०७७ सालदेखि नजिक रहेका गुप्तालाई मन्त्री बनाउन यसपालि कुलमानकै सिफारिस रहेको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयनिकट स्रोतले जनाएको छ ।
नयाँ दल दर्ता गरेर प्रत्यक्ष राजनीतिमा होमिने तयारीमा रहेका कुलमान जेनजी आन्दोलनसँगै एक्कासी मन्त्री बनेपछि अब सरकारी स्रोतसाधन र शक्तिको प्रयोग पार्टी निर्माणमा लगाउन थालेको आरोप छ । बब्लु र खगेन्द्र अब कुलमानको पार्टीमा लागेर आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनेछन् । आफू निकटलाई मन्त्री बनाएर पार्टी निर्माणको जग बलियो बनाउने रणनीतिमा कुलमान लागेका स्रोतले जनाएको छ ।
यसै महिनाको तेस्रो हप्ता कुलमानले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने स्रोतको दाबी छ । मन्त्री कुलमानले जेनजी आन्दोलनको भावनाअनुसार काम गर्नुपर्नेमा स्वार्थ समूह निर्माण गर्न लागेको संकेत पाएपछि प्रधानमन्त्री कार्की कुलमानसँग असन्तुष्ट रहेकी स्रोतले जनाएको छ ।




प्रतिक्रिया