कोशी प्रदेशमा छठ पर्वको उत्सव

कोशी प्रदेशमा छठ पर्वको उत्सव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर कोशी प्रदेशभर छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ ।

सोमबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइनेछ ।

विराटनगरको हाटखोलास्थित सिंघिया घाटसहित प्रदेशका विभिन्न जिल्लाका पोखरी, नदी र जलाशय किनारमा व्रतालुहरू, भक्तजन र श्रद्धालुहरूको ठूलो भीड देखिएको छ । सुनसरी मोरङ सिमानास्थित बुढींगा जमुना घाट लगायत कोशी प्रदेशका खासगरी तराई क्षेत्रका नदी तलाउ किनारामा पर्वको रौनक देखिएको छ ।

४ दिनसम्म मनाइने छठ पर्वको तयारीका लागि केही दिनअघिदेखि नै पोखरी, नहर र नदी किनारमा सरसफाइ र सजावट गरिएको थियो । व्रतालुहरूले पूजा सामग्री राखेर छठ घाटमा बसेर सूर्यदेव र षष्ठीदेवी (छठीदेवी)को आराधना गरिरहेका छन् । शनिबार ‘नहायखाय’ विधिबाट सुरु भएको यो पर्व आइतबार ‘खरना’ सम्पन्न गरी सोमबार मुख्य दिन अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परामा प्रवेश गरेको हो ।

यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्पूर्ण नेपालीहरूलाई छठ पर्वको शुभकामना व्यक्त गरेका छन् । उनले छठलाई ‘सूर्य भगवान्प्रति आस्था, आत्मानुशासन र समर्पणको पर्व’ भन्दै छठ पर्वले समाजमा एकता, सद्भाव र सहिष्णुताको सन्देश दिन्छ भनेका छन् ।

उनले विविधता भित्रको एकतालाई सम्मान र गौरवको रूपमा स्थापित गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै समाजमा शान्ति, समृद्धि र उज्ज्वल भविष्यको कामना गरे ।

कोशी प्रदेशका सुनसरी, मोरङ, झापा, धरान, इटहरी, उदयपुर लगायत क्षेत्रमा छठ पर्वको उल्लासपूर्ण माहोल छ । तराई क्षेत्र मात्रै नभएर पहाडी भेगका पोखरी र नदी किनारका छठ घाटमा व्रतालुहरू अर्घ्य अर्पण गर्दै सूर्यदेव र छठीदेवीको आराधनामा तल्लीन भएका देखिन्छन् ।