काठमाण्डु – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले देश अहिले अति जटिल अवस्थामा रहेको बताएका छन् ।
शनिबार नेकपा एमाले कास्कीले संविधानको रक्षा र प्रतिगमनकारी षड्यन्त्र तथा अराजकताविरुद्ध आयोजना गरेको मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै बस्नेतले अहिलेसम्म कुनै पनि वैदेशिक आक्रमण नसहेको स्वतन्त्र मुलुक नेपालमा अहिले साम्राज्यवादीले हस्तक्षेप गर्न खोजिरहेका बताए । उनीहरूको त्यो चाहना पूरा हुन नदिन नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओली अडिग भएर उभिएको बस्नेतले बताए ।
अहिलेसम्म ११ वटा देशमा जेनजी उचालेर सत्ता परिवर्तन गरिएको बताउँदै उनले ती ११ वटै देशको धेरै प्रकृति मिल्ने बताए । नेपालका जेनजीले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल सञ्चालनका माग गरेका बताउँदै बस्नेतले अपराधीहरूले उनीहरूलाई भड्काएर भदौ २३ र १४ गतेको घटना गराएका बताए ।
‘विदेशी शक्ति र त्यसका दलालहरूले बारबरा फाउण्डेसन बनाएर नेपाली बालबालिकाको छातीमा बम फिट गरी प्रतिनिधिसभा, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार स्वाहा पारे, काठमाण्डुपछि सबैभन्दा बढी क्षति गण्डकीको सदरमुकाम पोखरामा भयो,’ उनले भने ।
देश ध्वस्त बनाउने मुख्य मतियार माओवादी अध्यक्ष प्रचण्ड भएका पनि उनले बताए । आफू प्रधानमन्त्री बन्ने तानाबाना बुनिरहेको बेला छोरीको घर जलेपछि प्रचण्ड झल्यास्स भएका उनले सुनाए ।
प्रधानमन्त्री बन्न तम्सिएका अर्का पात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठग भएका बस्नेतले बताए । लामिछाने देशको प्रधानमन्त्री होइन, जेलको नाइके हुने उनले बताए । त्योभन्दा माथिको हैसियत लामिछानेको नभएको बस्नेतले बताए ।
बालेनको एउटा फेसबूक स्ट्याटसले नेपालको लोकतन्त्र सैनिक मुख्यालयमा लगेर बुझाउने प्रयास भएको भन्दै उनले आज वास्तविक जेनजीहरू बालेनको त्यो स्ट्याटस फलो गरेकोमा पछुताइरहेका बताए । ‘संसद् विघटन त्यहीँ बालेनको कारणले भयो, जसले जेनजीको प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने चाहना पूरा हुन पाएन, संविधान संशोधनको माग पूरा हुन सकेन,’ उनले भने ।
दलहरूलाई निषेध गरेकामा जेनजीहरू पछुताएका बताउँदै उनले आज जेनजीहरू दलहरू सहितको सरकार गठनको लागि प्रधानमन्त्रीलाई दबाब दिन लागेका बताए । एमाले सधैं जेनजीको पक्षमा रहेको बस्नेतको भनाइ छ । अब टोलटोलमा डिजिटल टीम बनाउने र टोलको सुरक्षा गर्ने काम एमालेले सुरु गरेको उनले जानकारी दिए ।
सामाजिक सञ्जालमार्फत व्यक्तिका घर जलाउन आह्वान गर्ने व्यक्तिहरूलाई सरकारले कारबाही गर्नुपर्ने बस्नेतले माग गरे । ‘यदि प्रहरी र सरकारले नियन्त्रणमा लिएन भने राष्ट्रिय युवासंघ नेपालले माइतीघरमा घेर्नेछ र ठीक पार्नेछ, राष्ट्रिय युवा संघ नेपालले माइतीघरबाट गिरफ्तार गर्नेछ र प्रहरीलाई बुझाउनेछ,’ उनले भने ।
घरमा बम हान्ने, आक्रमण गर्ने र मार्ने धम्की दिइन्छ र गृहमन्त्री मुकदर्शक बन्छन् भने आफ्नो सुरक्षा आफैंले गर्नुपर्ने स्थिति आउने उनले बताए । उनले त्यो स्थिति आउन नदिन सरकारलाई सचेत गराए ।
नेकपा एमालेको महाधिवेशन पोखरामा हुन लागेको बताउँदै उनले पोखरा महाधिवेशनले फेरि केपी ओलीलाई एमालेको अध्यक्ष बनाउने प्रष्ट पारे । ‘त्यो महाधिवेशनबाट हामी फेरि केपी ओलीलाई कास्कीबाट पार्टी अध्यक्ष बनाउनेछौं, किनभने केपी ओली राष्ट्रियताको नेता हो, केपी ओली हाम्रो सिमाना मिचिँदा संसारभर गएर कराउन सक्ने नेता हो, सी जिनपिङ र पुटिनसँग कुम जोडेर नेपालको राष्ट्रियताको कुरा गर्न सक्ने नेता हो,’ उनले भने ।




प्रतिक्रिया