प्रधानमन्त्री कार्कीसँग कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको भेटवार्ता

प्रधानमन्त्री कार्कीसँग कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीबारे राजनीतिक दलका नेताहरूसँग परामर्श जारी राखेकी छन् ।

शनिबार प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग बालुवाटारमा छलफल गरेकी छन् ।

दिउँसो करीब १ घण्टा चलेको छलफलमा निर्वाचन तयारी, दलहरूको प्रतिबद्धता र जेनजी आन्दोलनका मागलाई सम्बोधन गर्ने सम्भावनाबारे खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दलले निर्वाचनमा जाने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने बताइन् । त्यस क्रममा कांग्रेस महामन्त्रीद्वयले पार्टी निर्वाचनमा जान पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

महामन्त्रीद्वयको भनाइ उदृत गर्दै श्रेष्ठले भने, ‘औपचारिक निर्णय गर्न बाँकी भए पनि कांग्रेस निर्वाचनका पक्षमा छ । नेकपा एमाले पनि राष्ट्रलाई निकास दिन निर्वाचनबाट पछि हट्ने कुरा गर्दैन भन्ने विश्वास छ । सरकार र हामी दुवै पक्षबाट एमालेसँग थप संवाद गर्नुपर्छ ।’

कांग्रेस नेताद्वयले जेनजी आन्दोलनका प्रतिनिधि र अन्य दलहरूसँग पनि शीघ्र संवाद गरेर युवाहरूका मागलाई निर्वाचनअघि नै सम्बोधन गर्न सकिनेबारे सहमति खोज्नुपर्ने धारणा राखेका जनाइएको छ ।

प्रधानमन्त्री कार्कीले एमालेका शीर्ष नेताहरूसँग पनि छलफल गर्ने तयारी गरेकी छन् । एमाले नेतृत्वले शनिबार पार्टीको बैठक भएकाले अर्को दिन भेट्ने जानकारी बालुवाटारलाई दिएको छ ।

यसअघि प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद सम्पन्न भइसकेको छ, जसलाई निर्वाचनपूर्वको राजनीतिक संवादका रूपमा हेरिएको छ ।