काठमाण्डु – मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले हालको संविधानका धेरै कुराहरू खारेज गर्नुपर्ने बताएका छन् ।
शनिबार देश बचाऊ देश समृद्व बनाऊ नामक नागरिक समाजले आयोजना गरेको नागरिक समाज र जेनजीहरूको रचनात्मक संवादमा बोल्दै उनले जेनजी पुस्ताले भष्टाचार जस्तो महामारीको शल्यक्रिया गर्नुपर्ने भन्दै त्यसका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीले भनेकोे मैले सुनेको छु– हामी यो संविधानमा दायाँबायाँ गर्दैनौं । तपाईं शल्यक्रिया कसरी गर्नुहुन्छ ? प्रौढ पुस्ताको भएर भनिरहेको छु, यो संविधानको कैयौ कुराहरू खारेज हुनुपर्छ ।’
उनले भ्रष्टाचारको जड नेताहरू मात्र नभई स्थानीय तहका तल्लो निकायसम्म महामारीको रूपमा फैलिएको बताए । उनले त्यसलाई निर्मूल पार्न उखेल्नलाई जेनजी अर्थात् युवा पुस्ताले काम गर्नुपर्ने बताए ।
‘भ्रष्टाचारको जडको नेताहरूमा मात्र देख्नुभएको छ । नेताहरूलाई कारवाही त गर्नैपर्छ । यसमा विवाद छैन तर वडादेखि विकास समितिका प्रत्येक क्षेत्रमा भ्रष्टाचार महामारीको रूपमा फैलिएको छ,’ उनले थपे, ‘यसको जरो उखेल्नलाई शल्यक्रिया जरुरी छ । आजको जेनजी अर्थात् युवा पुस्ताले शल्यक्रिया गर्न तयार हो कि हैन ? मेरो प्रश्न छ ।’
उनले संविधानका कैयौ दफाहरूले भ्रष्टाचारलाई प्रश्रय दिएको समेत बताए ।
कार्यक्रममा बोल्दै डा. भोला रिजालले देशमा परिवर्तन गर्ने एउटा पुस्ताको आशा गरेको अहिले पूरा भएको भन्दै जेनजी पुस्तालाई आभार प्रकट गरेका छन् ।




प्रतिक्रिया