काठमाण्डु – नेपाली कांग्रेसको आइतबार दिउँसो बस्ने भनिएको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै बैठक स्थगित भएको जनाए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ जारी सूचनामा भनिएको छ ।
शुक्रबार पनि बस्दै नबसी आजका लागि बैठक तय गरेर स्थगित भएको थियो । यता, कांग्रेसका युवाहरूले पटक पटक केन्द्रीय समितिको बैठक सारिएकोमा विरोध जनाएका छन् । उनीहरूले सानेपा पार्टी कार्यालय अगाडि प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
उनीहरूले नियमित महाधिवेशन गर्न या तत्काल केन्द्रीय समिति भंग गर्न माग गरेका छन् ।
कांग्रेस सुधार अभियान (४० वर्षमुनिका) ले सुरक्षा घेरा तोडेर पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेकन हुन् । उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन्। पार्टी कार्यालय प्रवेश गर्ने मुखमै प्रहरीको सुरक्षा घेरा तोडेर अभियानसँग सम्बद्ध समूह पार्टी कार्यालयको गेटसम्म पुगेको हो।
पार्टी कार्यालयको प्रांगणमा जान गेट बन्द गरिएसँगै उनीहरूले बाहिरै बसेर नाराबाजी गरे। उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् ! आम कांग्रेसजन’, युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस् !’ लगायतका नारा लगाए।




प्रतिक्रिया